हेलिकप्टर दुर्घटनाको छानबिन गर्न तीन सदस्यीय छानबिन समिति गठन


काठमाडौँ । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको घटना छानबिन गर्न सरकारले आयोग गठन गरेको छ।

बुधबार अपराह्न बसेको आकस्मिक मन्त्रिपरिषद बैठकले लिकप्टर एयर डाइनेष्टी हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न आयोग गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले जानकारी दिए।

सरकार प्रवक्ता गुरूङका अनुसार हेलिकप्टर दुर्घटनाबारे छानबिन गरी प्रतिवेदन पेस गर्न आयोगलाई ३० दिनको समय दिइएको छ।

नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको संयोजकत्वमा छानबिन आयोग गठन गरिएको उनले जानकारी दिए। आयोगको सदस्यहरूमा विष्णु बस्नेत र तनुजा पोखरेल छन्।

बुधबार दिउँसो काठमाडौंबाट रसुवाको स्याफ्रुबेसीका उडेको एयर डाइनेष्टीको नाइन एन-एजेडी कलसाइन भएको हेलिकप्टर दुर्घटना हुँदा एक जना नेपाली र चार जना चिनियाँ नागरिकको मृत्यु भएको थियो।