वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउन श्रम आप्रवासन नीति चाँडै ल्याउँछौँः श्रममन्त्री भण्डारी


काठमाडाैँ । श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउन छुट्टै श्रम आप्रवासन नीति बनाउने तयारीमा रहेको बताएका छन् ।

सिंहदरबारमा आइतबार डा।गणेश गुरुङको संयोजकत्वमा गठित विज्ञ टोलीले तयार पारेको आप्रवासन नीतिको मस्यौदा बुझ्दै उनले यस्तो बताएका हुन् । समितिले तयार पारेको मस्यौदालाई आवश्यक छलफल र सुझावको आधारमा पूर्ण नीतिका रूपमा सरकारले चाँडै ल्याउने प्रतिबद्धतासमेत उनले जनाए ।

उनले वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउन नीति र कानुनको अभाव भएको भन्दै भएका कानुनहरूलाई संशोधन गरी वर्तमान समयअनुकूल बनाउने तयारीमा सरकार रहेको बताए । उनले श्रम क्षेत्रमा देखिएका बेथितिलाई समाधान गर्न श्रम अदालतको दायरा जिल्ला अदालतहरूमा समेत पुर्‍याउनुपर्ने आवश्यकता रहेको बताए ।

उनले अहिले सरकारले श्रम क्षेत्रका तीन कुरामा प्राथमिकता दिएको बताए । उनले वैदेशिक रोजगारीमा जाने प्रणालीलाई सुधार गर्न सरकारले नीतिगत रूपमा सुधार गर्ने पक्षमा रहेको बताए । उनले वैदेशिक रोजगारीको क्षेत्रलाई कसरी व्यवस्थित र मर्यादित बनाउने गरी आप्रवासन नीतिको मस्यौदा आएको बताए ।

उनले सरकारले विदेशमा गएका नागरिकलाई नेपाल फर्काएर ल्याउन के गर्न सकिन्छ भन्ने विषयमा पनि योजना बनाइरहेको बताए । विदेश जानेहरूलाई सरकारले रोक्न नसके पनि मुलुकमा फर्काएर ल्याउने योजना बनाउन आवश्यक रहेको बताए । उनले नेपालले बजार अनुसारको माग गर्ने भन्दा पनि आफ्नो माग अनुसारको बजार बनाउन आवश्यक रहेको बताए ।