काठमाडाैँ । दुई ठूला रेमिट्यान्स कम्पनी आइएमई र जीएमईबिच बुधवारदेखि संयुक्त कारोबार सुरू भएको छ ।
नेपालको पहिलो रेमिट कम्पनी आइएमई रेमिट्यान्सले जीएमई रेमिट्यान्ससँग मर्ज गर्दै आजदेखि संयुक्त कारोबार सुरू भएको हो ।
बुधवार दुई रेमिट्यान्स कम्पनीको एकीकृत कारोबारको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले गरेका हुन्। आइएमई र जीएमई रेमिट मर्ज भएपश्चात अब आइएमई लिमिटेडको नामबाट कारोबार सुरू गरेका छन् ।
एकीकृत कारोबारको उद्घाटन कार्यक्रममा बोल्दै आईएमई गु्रपका अध्यक्ष चन्द्रप्रसाद ढकालले एक करोड चुक्ता पुँजीको आइएमईले अहिले एक अर्ब भन्दा बढीको कम्पनी भएको बताए ।
उनले आईएमई गु्रपमार्फत सरकार र जनताको आवश्यकता र प्राथमिकतामा रहेका विभिन्न डेढ दर्जन बढी क्षेत्रमा लगानी बिस्तार गरेको बताए ।
उनले रेमिट्यान्स सेवाबाट व्यवसायिक यात्रा शुरु गरेको आइएमईले अहिले आफ्नो लगानी सेवामुलक, उत्पादनमुलक र पूर्वाधार विकासका विभिन्न क्षेत्रमा बिस्तार गरिरहेको बताए । उनले आइएमई शुरुवातको समय करिव २० प्रतिशत मात्र औैपचारिक रहेको रेमिट्यान्स अहिले करिव ८० प्रतिशत औपचारिक माध्यमबाट आउन थालेको दाबी समेत गरे ।
आइएमई सुरू गर्दा मासिक २ मिलियन डलर भित्र्याउने लक्ष्य राखेकोमा अहिले २०० मिलियन डलरभन्दा बढी पुगेको छ । दुवै कम्पनीको गत जेठमा भएको साधारण सभाले एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धि प्रस्ताव पारित गरेका थिए । राष्ट्र बैंकले रेमिट कम्पनी मर्जर गर्न लिएको नीति कार्यान्वयन गर्ने आइएई पहिलो बनेको छ ।
मर्जरपछि कारोबार रकमका आधारमा आईएमई र जीएमइ मर्जपछि कम्पनीको कारोबार वार्षिक साढे ३ खर्ब रुपैयाँभन्दा बढी हुने भएको छ । आईएमईको पुँजी ९० करोड र जीएमईको पुँजी २५ करोड रुपैयाँ रहेको पुँजी मर्जपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब १५ करोड रुपैयाँ कायम हुनेछ ।
प्रतिक्रिया दिनुहोस्