भ्रष्टाचार न्युनिकरणमा अझ सशक्त रूपमा अघि बढ्नुस्ः राष्ट्रपति पौडेल


काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन कायम गर्ने सन्दर्भमा भ्रष्टाचारजन्य कसुरको पहिचान गर्ने, अनुसन्धान सम्बन्धी कार्यलाई वैज्ञानिक, तथ्यपरक र नतिजामुखी बनाउने कार्य महत्वपूर्ण रहेको बताएका छन् ।

आइतवार शितल निवासमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८०\०८१ को वार्षिक प्रतिवेदन बुझ्दै उनले यस्तो बताएका छन् । उनले आयोगको संस्थागत क्षमता विकास र कर्मचारीहरुको व्यवसायिक दक्षता अभिवृद्धि गर्दै आयोगका काम, कारबाहीलाई पारदर्शी र प्रभावकारी बनाउनु अति आवश्यक रहेको बताए ।

उनले आयोगले प्रतिवेदनमा उल्लेख गरेका भ्रष्टाचार नियन्त्रण सम्बन्धी काम, कारबाहीहरु प्रशंसनीय रहेको बताए ।उनले अब यसलाई अझ सशक्त रूपमा लैजानुपर्ने आवश्यकता रहेको बताए । उनले आयोगलाई आगामी दिनहरूमा नेपालको संविधान तथा प्रचलित कानून बमोजिमको जिम्मेवारी पूरा गर्न ससफलता मिलोस् भन्ने शुभकामना समेत दिए ।

राष्ट्रपति पौडेलले प्रतिवेदनमा उठाइएका महत्वपूर्ण विषयहरुलाई सरकारले प्रभावकारी रुपमा सम्बोधन गर्ने विश्वास व्यक्त गरे ।