ललितपुरको पाटनमा ज्वेलरी एक्स्पो हुने


काठमाडाैँ । ललितपुरको पाटनमा ज्वेलरी एक्स्पो हुने भएको छ । ललितपुर रत्न तथा आभूषण संघ र रोटरी क्लव अफ पाटन हेरिटेजले मंगलवार पत्रकार सम्मेलन गरी यही असोज ११ देखि १३ गतेसम्म पाटन दरबार क्षेत्रको भण्डारखालमा ‘पाटन हेरिटेज एण्ड ज्वेलरी एक्स्पो–२०२४’ आयोजना गर्ने जानकारी गराएको हो ।

ज्वेलरी व्यवसायको प्रवद्र्धनका लागि सो एक्स्पो आयोजना गर्न लागिएको ललितपुर रत्न तथा आभुषण संघका अध्यक्ष कृष्णलाल महर्जनले जानकारी दिए । सो एक्स्पोमा करिव ५० हजारले अवलोकन गर्ने अपेक्षा गरिएको छ । अध्यक्ष महर्जनले एक्स्पोमा राम्रो विक्रीवितरण हुने विश्वास समेत व्यक्त गरे ।

एक्स्पोमा सांस्कृतिक, व्यापारिक, फुड र पर्यटन प्रर्वद्धनात्मक लगायतका गरी २५ वटा स्टल रहने उल्लेख गरिएकाे छ । स्थानीय कालिगढ, रत्न तथा आभुषण उद्यमी तथा व्यापारिक क्षेत्र सो एक्स्पोबाट प्रत्यक्ष रुपमा लाभान्वित हुने अध्यक्ष महर्जनले विश्वास व्यक्त गरे ।