काठमाडौँ महानगरको चेतावनी: अधिकतम मूल्यभन्दा बढीमा बिक्री गरे कारबाही गर्ने


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्रका सञ्चालित खुद्रा तथा थोक पसलबाट अधिकतम मूल्यभन्दा बढीमा समान बिक्री भएको पाइए कारबाही गर्ने चेतावनी दिएको छ।

महानगरले बुधबार एक सूचना जारी गर्दै मूल्य सूची बनाएर पसलको अग्रभागमा सबैले देख्ने गरी राख्न, अधिकतम मूल्यभन्दा बढी मूल्यमा बिक्री वितरण नगर्ने सुनिश्चित गर्न र उपभोग गर्ने अवधि बाँकी भएको मालसामान मात्र बिक्री वितरण गर्न, खाद्य, पेय तथा अन्य वस्तुको गुणस्तर, शुद्धता र स्वच्छता कायम गर्न आग्रह गरेको छ ।

अनुगमनका क्रममा आग्रह विपरीत कसैले कुनै वस्तु वा सेवा बिक्री वितरण गरेको पाइएमा, उजुरी परेमा वा गुनासो प्राप्त भएमा यस कार्यालयबाट खटिने अनुगमन टोलीका सदस्य वा कार्यालयबाट प्रचलित कानुनबमोजिम कारबाही गर्ने चेतावनी पनि महानगरले दिएको छ ।