रहेनन् भारतीय उद्योगपति रतना टाटा, महाराष्ट्रमा राजकीय सम्मानकासाथ अन्तिम संस्कार गरिँदै


काठमाडौँ। भारतीय उद्योगपति रतन टाटाको ८६ वर्षको उमेरमा निधन भएको छ।​

उपचारको क्रममा मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उनको निधन भएको हो। उनी केही समयदेखि बिरामी थिए।

महाराष्ट्र सरकारले उनको अन्तिम संस्कार राजकिय सम्मानका साथ गर्ने निर्णय गरेको छ ।

उनको पार्थिव शरिर आज बिहान १० बजेदेखि ४ वजेसम्म दक्षिण मुम्बाईको नेशनल सेन्टर फर पर्फमिङ आर्ट ग्यालरीको हलमा राखिने छ । त्यसपछि अन्त्यष्टी गरिने महाराष्ट्रका मुख्यमन्त्री एकनाथ सिन्देले मिडियालाई बताएका छन् ।

सन् २००० मा पद्म भुषण र २००८ मा दोस्रो सर्वोच्च नागरिक सम्मान पाउन सफल रतन टाटा लामो समय टाटा ग्रुपको चेयम्यान थिए । उनको जन्म २८ डिसेम्बर १९३७ मा भएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि रतन टाटाप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्। मोदीले भनेका छन्, “रतन टाटासँग मैले गरेका अनगिन्ती कुराकानीले मेरो हृदय भरिएको छ। उनको निधनले गहिरो दुःखी बनाएको छ। यस दुखद घडीमा मेरो विचार उनको परिवार, साथीहरू र प्रशंसकहरूसँग छ। ओमा शान्ति।”

रतन टाटा सन् १९९१ मा टाटा ग्रुपका अध्यक्ष बने र सन् २०१२ सम्म उनका हजुरबुबाले स्थापना गरेको टाटा ग्रुपका अध्यक्ष थिए।

उनले सन् १९९६ मा दूरसञ्चार कम्पनी टाटा टेलिसर्भिसेजको स्थापना गरेका थिए र सन् २००४ मा आईटी क्षेत्रमा टाटा कन्सल्टेन्सी सर्भिसेज टीसीएससँग सार्वजनिक भएका थिए।

सन् २००९ मा रतन टाटाले मध्यम वर्गका लागि विश्वको सबैभन्दा सस्तो कार उपलब्ध गराउने आफ्नो वाचा पूरा गरेका थिए। उनले टाटा नानो नामक एक कार लन्च गरेका थिए जसको मूल्य १ लाख भारु थियो।

टाटा कम्पनीको दैनिक कार्यहरूबाट पछि हट्दै पछिल्लो समयमा परोपकारी ट्रस्टको प्रमुखको रूपमा सेवा गरिरहेका थिए।