भारतबाट आयात गरिएको ८५ हजार किलो न्यून गुणस्तरको चामल नाकाबाटै फिर्ता


काठमाडौँ । नेपाल सरकारले चाडपर्वको बेला व्यवसायिक प्रयोजनका लागि भारतबाट नेपालगन्ज भन्सार नाकामा ल्याइएको ८५ हजार केजी चामल फिर्ता गरेको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको परीक्षणमा उक्त चामल नेपाल सरकारले तोकेको अनिवार्य मापदण्ड अनुरूप नभएको भन्दै फिर्ता गरेको हो ।

खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय, नेपालगन्जले गरेको परीक्षणमा क्षतिग्रस्त दानाको मात्रा अत्याधिक रहेको र चामलको गुणस्तर न्यून रहेको देखाएपछि उक्त चामलको कन्साइनमेन्ट नेपालगन्ज भन्सार कार्यालयमार्फत भारत फिर्ता गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जाका प्रमुख सन्तोष दाहालले जानकारी दिए ।

यस विषयमा भन्सार कार्यालयले असोज ३० गते प्रतिवेदन प्रस्तुत गरेको थियो । खाद्य तथा गुणस्तर ऐन, २०८१ अनुसार खाद्य पदार्थ पैठारी गर्नुअघि विभाग वा विभागले तोकेको कार्यालयबाट स्वीकृति र प्रवेश अनुमति लिनुपर्ने अनिवार्य व्यवस्था छ।

मापदण्ड पालना नगरेका व्यवसायीलाई कानूनी कारवाही हुने चेतावनी विभागले दिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले जारी गरेको प्रेस नोटमा देशभरका १२ वटा भन्सार नाकामा रहेको खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालयहरूले नियमित रूपमा खाद्य पदार्थको परीक्षण र नियमन गर्दै आएको जानकारी दिएका छन् ।