विपी राजमार्गः छोटो दूरीका कारण ५ घण्टाको जाम बसेरै यात्रा गर्न बाध्य छन् यात्रुहरू


काठमाडाैँ । अविरल वर्षासँगै सुनकोशी नदीमा आएको बाढीले संघीय राजधानी काठमाडौँबाट पूर्वी क्षेत्र जोड्ने सडक सञ्जाल छिन्नभिन्न छ । गत असोज ११ र १२ गतेको अविरल वर्षाले देशभर नै ठूलो जनधनको क्षति गर्‍यो । पुल पुलेसा, सडक सञ्जाल र भौतिक पूर्वाधारको क्षेत्रमा ठूलो क्षति भएको छ ।

विपद्का कारण आवागमन रोकिएका सडक सञ्जालहरू अधिकांश पूर्ण रूपमा नै सञ्चालनमा आइसकेका छन् । तर विपी राजमार्ग भने अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । पूर्ववर्ती क्षेत्रबाट संघीय राजधानी आउने वैकिल्पक बाटो भनेको उदयपुर चितवनबाट काठमाडौं आउने हो । तर लामो पर्ने भएकाले पाँच घण्टा भन्दा बढी जाममा बसेर भएपनि विपी राजमार्गबाटै काठमाडौं आउने गरेका छन् ।

विपी राजमार्गको यात्राका क्रममा पर्यटकहरू पनि सास्ती व्यहोरिरहेका छन् । राेशी खाेलाले धेरै ठाउँमा सडक नै बगाएको छ । त्यसको विकल्प दिन सरकारलाई अझै धेरै समय लाग्ने निश्चितप्रायः छ । स्थलगत रिपोर्टिङका क्रममा न्युज एजेन्सी नेपालले विपी राजमार्गमा भेटिएका एक जना सवारी चालकसँग कुरा गर्दा उनले ४\५ घण्टा कुरेर बस्नुपर्ने र अर्को बाटो जाँदा एक दिन पूरै समय जाने भएकाले जाममा बसेरै छोटो बाटो जाने गरेको बताए ।

तत्काल बाटो बन्छ जस्तो उनलाई लागेको छैन । चितवन हुँदै जाँदा बाटो घुमाउरो भएकाले विपी राजमार्ग हुँदै नै जान छिटो हुने बताए । सोही क्रममा भेटिएकी रुसकी पर्यटकले आफूसँग समय नरहेको तर अघि बढ्न समस्या भएको गुनासो गरिन् । उनले काठमाडौाका लागि आफू हिँडेपनि बाटोमा धेरै समयदेखि जाममा बस्नुपरेको बताइन् । 

काभ्रेको भकुण्डेबेंसी क्षेत्रमा भेटिएका मोटरसाइकल चालकसँग कुरा गर्दा उनले  आफू झापाबाट काठमाडौं हिँडेको दुई दिनमा भकुण्डेबेंसी आइपुगेको बताए । उनले बाटो चितवनतिर पनि बिग्रिएकाले छोटै बाटोबाट जाने निर्णय गरेर आएपछि सहज नरहेको प्रतिक्रिया दिए । उनले विगतमा बाटो राम्रो हुँदा एक दिनमा पुग्ने ठाउँ अहिले दुई दिनमा पनि पुग्न कठिन भइरहेको गुनासो गरे । नदीले अहिले आफ्नो क्षेत्र ओगटेकाले नदीले नभेट्ने क्षेत्रलाई मध्यनजर गरी सडक सञ्जाल बनाउन सरकारलाई सुझावसमेत दिए ।

बाढी, पहिरोका कारण विपी राजमार्गसहित देशभर सडक, पूर्वाधारका क्षेत्रमा ६ अर्ब बढीको क्षति भएको अनुमान छ । तर काम पूरा गर्नका लागि १५ अर्ब बढी रकम लाग्ने सरकारले अनुमान गरेको छ ।