भारतीय बजारमा बजाजले गर्‍यो पल्सर एन १२५ सार्वजनिक, यस्ता छन् विशेषता


काठमाडौँ। बजाजले भारतीय बजारमा नयाँ पल्सर एन १२५ मोटरसाइकल सार्वजनिक गरेको छ। कम्पनीले विशेष रूपमा नयाँ पुस्तालाई लक्षित गर्दै यो मोडल तयार पारेको हो। यस मोटरसाइकलमा ब्लुटुथ कनेक्टिभिटीसहितको पूर्ण डिजिटल एलसीडी स्क्रिन प्रदान गरिएको छ, जसले यसलाई आधुनिक प्रविधियुक्त बाइक बनाएको छ। कम्पनीकाे दाबीअनुसार, यो १२५ सीसी सेग्मेन्टको सबैभन्दा शक्तिशाली बाइक हो, जसले ० देखि ६० किलोमिटर प्रतिघण्टाको गति सबैभन्दा छिटो प्राप्त गर्न सक्छ।

बजाज पल्सर एन १२५ दुई भेरियन्टमा उपलब्ध छ— एलईडी डिस्क र एलईडी डिस्क बीटी। स्ट्यान्डर्ड भेरियन्टको भारतीय बजारमा मूल्य ९४ हजार ७०७ भारु एक्स-शोरुम रहेको छ भने टप स्पेस एलईडी डिस्क बीटीको मूल्य ९८ हजार ७०७ भारु रहेको छ। यो बाइक बजाजको पल्सर १२५ र पल्सर एनएस १२५ बीचको मोडल हो, जसले टिभिएस रेडर र हीरो एक्सट्रीम जस्ता बाइकमाथि प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ।

बाइकमा जेट आकारको एलईडी डीआरएल सहितको हेडलाइट र एलईडी टेललाइट पनि रहेको छ, जबकि संकेतकहरू बल्ब प्रकारका छन्। यसको स्पोर्टी लुक दिने ट्याङ्क एक्सटेन्सन र रियरमा सिंगल पिस ग्रेब रेलको सुविधा पनि छ। धुलोबाट सुरक्षा प्रदान गर्न फोर्कमा प्लास्टिकको आवरण राखिएको छ भने बाइकमा स्प्लिट सिट सेटअप र अन्डरबेली एक्जस्ट जस्ता विशेषताहरू पनि रहेका छन्।

बजाज पल्सर एन १२५ सात रङमा उपलब्ध हुनेछ। एलईडी डिस्क बीटी मोडल एबोनी ब्ल्याक–ककटेल वाइन रेड, प्युटर ग्रे–सिट्रस रश र एबोनी ब्ल्याक–पर्पल फ्युरी गरी तीन रङमा आउँछ भने एलईडी डिस्क भेरियन्ट पर्ल मेटालिक ह्वाइट, इबोनी ब्ल्याक, ककटेल वाइन रेड र क्यारेबियन ब्लू गरी चार रङमा उपलब्ध हुनेछ।

यो मोटरसाइकलमा १२५ सीसीको एकल सिलिन्डर, एयर–कुल्ड इन्जिन छ, जसले अधिकतम ११.८ एचपी पावर र ११ एनएम पीक टर्क उत्पन्न गर्दछ। यसलाई ५-स्पीड गियरबक्ससँग ट्युन गरिएको छ, जसले यो बाइकलाई उच्च प्रदर्शन गर्न सक्षम बनाउने कम्पनीकाे दाबी छ ।