जावलाखेलमा सुरु भयो १७ औँ गोदावरी फूलको मेला (तस्बिरहरु)


काठमाडौँ । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा आजदेखि ललितपुरको जावलाखेल खेल मैदानमा १७ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरू भएको छ । फूलको व्यवसायीक विकास, विस्तार तथा प्रवर्द्धन गर्ने उदेश्यले कार्तिक ८ (आज) देखि ११ गतेसम्म ४ दिने प्रदर्शनी सुरू भएको हो ।

यस प्रदर्शनीमा व्यावसायिक स्टल ६८, प्रतियोगितात्मक स्टल २, अफिसियल स्टल ४ र फोटो पारखीहरूका लागि सेल्फी स्टल १ गरि जम्मा ७५ वटा प्रदर्शनी कक्षहरू रहने छन्। ४ दिने यस गोदावरी फूलको प्रदर्शनीमा ४० हजार बढिले प्रत्यक्ष अवलोकन गर्ने साथै एक करोड भन्दा बढीको व्यावसायिक कारोबार हुने अपेक्षा गरिएको छ।

यो प्रदर्शनी गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी समेत रहेकोले गोदावरी फूलको विविध विधामा प्रतिस्पर्धा गराई पुरस्कृत गरिने कार्यक्रमलाई पनि निरन्तरता दिइने छ। विगत वर्षमा झैँ यस वर्ष पनि गोदावरी फूलको ४ वटा विधा (मिनियचर, रिफ्लेक्स, स्पाईडर र ईनकर्भ) मा प्रतिस्पर्धा गराइने बताइएको छ ।