तिहारमा काठमाडौँमा प्लास्टिकका फूलमाला बिक्री गर्न नपाइने


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एकल प्रयोग हुने प्लास्टिक सामग्रीहरू, प्लास्टिकका पुष्प गुच्छा, र ४० माइक्रोनभन्दा पातला प्लास्टिकका झोलामा पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ। महानगरको आर्थिक वर्ष २०८१\८२ को वार्षिक नीति तथा कार्यक्रममा पर्यावरणीय संरक्षणको उद्देश्यले यस्तो कदम चालेको जनाएको छ ।

नयाँ नीतिअनुसार, प्लास्टिकका फूल गुच्छा, माला, र पातला प्लास्टिकका झोलाको उत्पादन, बिक्री वितरण, भण्डारण, र ओसारपसारमा प्रतिबन्ध लगाइएको छ। प्लास्टिकका झोलाको सट्टामा कागज वा कपडाका झोला प्रयोग गर्नुपर्ने व्यवस्था अनिवार्य गरिएको महानगरले जनाएको छ ।

महानगरपालिकाले यस नीति कार्यान्वयन गर्न अनुगमन टोली खटाउने निर्णय गरेको छ, जसले प्रतिबन्ध उल्लङ्घन गरेमा वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ। सर्वसाधारण, व्यापारी, र उत्पादकहरूले यस सूचनाको पालना गर्न आवश्यक कदम चाल्न आग्रह गरिएको छ।