काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघले डेडिकेटेड फिडर र ट्रंकलाइनको भुक्तानी सम्बन्धी विवाद वार्ताद्वारा समाधान गर्नुपर्ने बताएकाे छ । महासंघले जारी गरेको प्रेस विज्ञप्ति गर्दै विवादका कारण उद्योगहरूको बिजुली लाइन बारम्बार काटिनुबाट उत्पादनमा प्रतिकूल असर पर्नुका साथै लगानीको वातावरणमा नकारात्मक सन्देश फैलिएको उल्लेख गरेको छ।
महासंघले सम्बन्धित सबै पक्षलाई लाइन नकाट्ने र हाल काटिएको बिजुली पुनः जडान गरी वार्ताद्वारा समाधान खोज्न आग्रह गरेको छ। उद्योग र नेपाल विद्युत प्राधिकरणबिच विद्युत उपभोग सम्बन्धी मतभेदले यस समस्या लामो समयदेखि समाधान हुन नसकेको जनाएको छ। बिजुली उपभोगको प्रमाणका आधारमा अतिरिक्त महसुल भुक्तानी गर्न उद्योगीहरू तयार रहेको महासंघको भनाइ छ।
डेडिकेटेड फिडर र ट्रंकलाइन विवादलाई स्थायी रूपमा समाधान गर्न सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षतामा आयोग गठन भए पनि, उक्त आयोगको प्रतिवेदन अहिलेसम्म कार्यान्वयनमा आउन नसकेको महासंघले उल्लेख गरेको छ। महासंघले नेपाल विद्युत प्राधिकरणलाई लाल आयोगको प्रतिवेदनको आधारमा सक्रिय भूमिका खेल्न र उद्योगहरूको काटिएको बिजुली पुनः जडान गर्न आग्रह गरेको छ। महासंघले सरकार र सम्बन्धित निकायसँग यो समस्या स्थायी रूपमा समाधान गर्न पहल गर्न पनि आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस्