चालु आर्थिक वर्षको तीन महिनामा १४ जीवन बिमा कम्पनीका २८ हजारभन्दा बढी पोलिसी सरेन्डर


काठमाडाैँ । चालु आर्थिक वर्ष २०८०\८१ को तीन महिनामा १४ वटा जीवन बिमा कम्पनीमा बिमा पोलिसी सरेन्डर गर्नेहरूको संख्या २८ हजार नाघेको छ ।

नेपाल बिमा प्राधिकरणको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउन महिनादेखि असोजसम्म बीमितहरूले २८ हजार ०५७ वटा बिमालेख सरेन्डर गरेका हुन् ।

प्राधिकरणको तथ्याङ्क अनुसार तीन महिनाको अवधिमा १४ जीवन बिमा कम्पनीको ३ अर्ब ८२ करोड ४६ लाख रुपैयाँ बराबरको बिमा पोलिसी सरेन्डर भएको छ । यो अवधिमा सबैभन्दा बढी बिमा पोलिसी सरेन्डर गर्नेमा एलआइसी नेपाल र नेपाल लाइफ रहेका छन् । तीन महिनाको अवधिमा एलआइसी नेपालको ७ हजार ७३१ वटा पोलिसी बराबर १ अर्ब २२ करोड ९६ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।

सोही अवधिमा नेपाल लाइफको ६ हजार ५४६ वटा बिमा पोलिसी वापत १ अर्ब ८ करोड ५४ लाख रुपैयाँ, राष्ट्रिय जीवन बिमा कम्पनीको २ हजार ७४२ वटा बिमा पोलिसी वापत २७ करोड ४३ लाख रुपैयाँ, एशियन लाइफको २ हजार २७२ वटा बिमा पोलिसी वापत २४ करोड ८४ लाख रुपैयाँ बराबरको बिमा पोलिसी सरेन्डर भएको हो ।

त्यसैगरी, नेशनल लाइफको १ हजार ५५४ वटा पोलिसी वापत २३ करोड ६२ लाख रुपैयाँ, सूर्यज्योति लाइफको १ हजार ५७४ वटा पोलिसी वापत १९ करोड ३३ लाख रुपैयाँ, हिमालयन लाइफको २ हजार १४ वटा बिमा पोलिसी वापत १८ करोड २३ लाख रुपैयाँ, मेट लाइफको ९ सय ९५ वटा बिमा पोलिसी वापत १० करोड ६३ लाख रुपैयाँ पोलिसी सरेन्डर भएको हो ।

सोही अवधिमा सानिमा रिलायन्स लाइफको ५ सय ३७ वटा पोलिसी वापत ७ करोड ७८ लाख रुपैयाँ,आइएमई लाइफको ४ सय ७० वटा बिमा पोलिसी वापत ५ करोड ११ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफको ३ सय ५४ वटा बिमा पोलिसी वापत ४ करोड ६९ लाख रुपैयाँ, सिटिजन लाइफको ५ सय ८८ वटा बिमा पोलिसी वापत ४ करोड ४९ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफको ४ सय ८७ वटा बिमा पोलिसी वापत २ करोड ९८ लाख रुपैयाँ र सन नेपाल लाइफको १९३ वटा बिमा पोलिसी वापत १ करोड ७७ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको बिमा प्राधिकरणको तंथ्याकले देखाएको छ ।