काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमालाई लिएर विज्ञहरुले एक पटकको भ्रमणमा एउटा मात्रै नेशनल गोल (राष्ट्रिय एजेण्डा) बनाउनुपर्ने बताएका छन् ।
फ्रेण्ड्स अफ चाइनाद्वारा शनिवार काठमाडौंमा आयोजित आधुनिक चीनसँग नेपालको दुई पक्षिय सम्बन्धबारे छलफलमा बोल्दै विज्ञहरुले एक भ्रमण, एक राष्ट्रिय एजेण्डा बनाउनुपर्ने बताएका हुन् । उनीहरूले नेपालले विगतका प्रधानमन्त्रीहरुको भ्रमणमा पनि राष्ट्रिय प्राथमिकता र एजेण्डाहरुमा अल्मलिएको भन्दै यस पटक त्यसो हुन दिन नहुनेतर्फ सचेत गराए ।
चीनको अनुभवबाट सिकेर नेपालले फाइदा लिन सक्नुपर्ने कुरा प्राथमिकतामा राख्न जोड दिए । चिनियाँ लगानी भित्र्याउने, चीनको शिक्षाको मोडेल र अनुभवबाट शिक्षाको हब नेपाललाई बनाउने विषय प्रमुख प्राथमिकतामा पर्नुपर्ने सुझाव दिए । त्रिभूवन विश्वविद्यालयका प्राध्यापक केशव सिग्देलले प्रधानमन्त्रीको चीन भ्रमणमा आर्थिक सहयोगको पाटो पहिलो प्राथमिकतामा पर्नुपर्ने बताए ।
उनले नवप्रवर्तनकारी कामहरु गर्नका लागि चीनसँग सहयोग माग्ने र नेपालमा उद्योग खोल्न लगाउने पहल गर्नसके रोजगारीको अवसर सिर्जना हुनुका साथै युवाहरु विदेश पलायन हुनबाट रोक्ने वातावरण बन्ने बताए ।उनले चीन विद्युतीय सवारीसाधन उत्पादन गर्ने पहिलो ठूलो देश भएकाले पनि नेपालमा त्यस किसिमका उद्योग सञ्चालनका लागि पहल गर्नुपर्नेमा जोड दिन आवश्यक रहेको बताए । नेपालले चीनसँग सरकारी स्तरमा हुने सम्बन्धका साथसाथै सांस्कृतिक र नागरिकस्तरको सम्बन्धमा जोड दिन जरुरी रहेको बताए ।
कार्यक्रममा बोल्दै अध्येता डा.विक्रम तिमल्सिनाले प्रधानमन्त्रीले कुनैपनि देशको भ्रमण गर्दा सद्भाव र विश्वास लिएर जाने र फर्किने कुराले नै सम्बन्ध बलियो बनाउने बताए । उनले विश्वास र सद्भावबाट नै दुई देशबीचको सम्बन्ध प्रगाढ र बलियो बन्ने तर्क गर्नुभयो । उहाँले कसरी आफूलाई विकसित र निर्माण गर्ने भन्नेकुरा चीनबाट सिक्नुपर्ने बताए ।
सञ्चारमाध्यमहरुमा परराष्ट्र मन्त्रालयलाई बाइपास गरेर दुई दलीय संयन्त्रका आधारमा भ्रमण गर्नेकुरा सुखद् नरहने जिकिर गरे । उनले नेपाल कुनै एउटा दल र दलका प्रतिनिधहरुको संस्था नभएकाले सरकारी निकायहरुलाई नै बलियो बनाएर जानुपर्ने बताए ।
कार्यक्रममा बोल्दै त्रिभूवन विश्वविद्यालयका प्राध्यापक विपिन देवले प्रधानमन्त्री ओलीले चीन भ्रमणमा एउटा नेशनल गोल लिनुपर्ने बताए । उनले चिनियाँ अनुभव र मोडलबाट सिकेर नेपाललाई शिक्षाको हब बनाउने पहल गर्नुपर्ने कुरा एउटा राष्ट्रिय एजेण्डा बन्नसक्ने प्रश्ताव राखे। प्रधानमन्त्रीले कुनैपनि देशको भ्रमण गर्दा एक भ्रमण, एक योजना बनाउनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै वागमती प्रदेश, प्रदेश सभाका सभामुख भूवन पाठकले प्रधानमन्त्रीको चीन भ्रमणमा नेपालीहरुले आश बढ्नु स्वभाविक रहेको बताए । उनले प्रधानमन्त्रीको चीन भ्रमणमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि लिएको ऋण मिनाह प्राथमिकतामा पर्नुपर्ने कुरा सञ्चारमाध्यमहरुमा आएपनि सो विषय प्राथमिकतामा पर्न नहुने धारणा राखे ।
प्रतिक्रिया दिनुहोस्