काठमाडौँ । विश्वभरका परामर्शदाताहरूको छाता संगठन फिडिक अन्तर्गत एशिया प्रशान्त क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय सम्मेलन मंसिर ३ देखि ५ गतेसम्म नेपालमा आयोजना हुने भएको छ। सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनियरिङ फर्म्स (स्काएफ) को आयोजनामा हुन लागेको यो सम्मेलन १५ वर्षपछि नेपालमा पुनः आयोजना गर्न लागिएको हो।
उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्ने कार्यक्रममा फिडिककी अध्यक्ष क्याथरीन काराकात्सानीससहित २३ देशका प्रतिनिधि तथा १०० भन्दा बढी अन्तर्राष्ट्रिय र ३०० भन्दा बढी राष्ट्रिय सहभागीहरूको उपस्थिति रहनेछ। सम्मेलनमा ‘Governance for Climate Shocks’ भन्ने मुख्य विषयवस्तुमा छलफल गरिने आयाेजकले जनाएकाे छ। तीन दिनसम्म सञ्चालन हुने कार्यक्रममा जलवायु संकटसँग सम्बन्धित प्राविधिक र नीतिगत पहलमाथि ७ विशिष्ट शिर्षकमा विचार-विमर्श हुनेछ।
स्काएफका महासचिव ई. कमल कार्कीका अनुसार, जलवायु संकटका कारण सामना गर्नुपरेका चुनौतीहरूमा अन्तर्राष्ट्रिय विशेषज्ञहरूको सुझाव र समाधानमा आधारित महत्त्वपूर्ण निष्कर्ष सम्मेलनले दिन सक्नेछ। फिडिकका ५ क्षेत्रीय समितिहरूमध्ये एशिया प्रशान्त समितिमा सक्रिय सदस्यका रूपमा रहेको स्काएफले यस सम्मेलनमार्फत नेपालको परामर्श क्षेत्रमा अन्तर्राष्ट्रिय महत्त्वलाई प्रकट गर्ने अवसर पाएको छ।
नेपालमा परामर्शदाताहरूको साझा मञ्चका रूपमा २०४७ सालमा स्थापना भएको स्काएफमा हाल २७३ परामर्शदातृ फर्महरू आबद्ध छन्। स्काएफले जलवायु, पूर्वाधार, वातावरण, सूचना प्रविधि, र यातायातजस्ता क्षेत्रहरूमा परामर्श सेवा प्रदान गर्दै आएको छ। निर्माण व्यवसाय ऐन २०५५ ले परामर्शदाताहरूको भूमिकालाई आधिकारिक मान्यता दिएको छ।
नेपालमा फिडिक सम्मेलन यसअघि सन् २००९ मा आयोजना गरिएको थियो। अघिल्लो सम्मेलन थाईल्यान्डको बैंककमा भएको थियो भने सन् २०२५ मा इन्डोनेशियाको बालीमा आयोजना हुनेछ।
स्काएफका महासचिव कार्कीले नेपाललाई जलवायु परिवर्तन र दिगो विकासका मुद्दाहरूमा अन्तर्राष्ट्रिय संवादको केन्द्रबिन्दु बनाउने यो अवसर फलदायी हुने विश्वास व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस्