इनर्जी ड्रिङ्सबारे स्पष्ट नीति नहुँदा अर्बौं लगानी जोखिममा छ 


सरकारले २०७६ साल असार २ गते राजपत्रमा सूचना प्रकाशित गरी इनर्जी ड्रिङ्सको आयातमा रोक लगायो । राजपत्रमा ‘क्याफिनयुक्त शक्तिवद्र्धक पेय पदार्थ (इनर्जी ड्रिङ्स) फ्लेबर सिन्थेटिक ड्रिङ्स र यस्तै प्रकारका पेय पदार्थ’ उल्लेख गरेर आयातमा प्रतिबन्ध लगाइएको थियो । यो प्रतिबन्धले नेपाली बजारमा आयात भइरहेका इनर्जी ड्रिङ्स रेडबुल, रेड ब्लुु, मोर्टाेन, चाब्बा, जिन्जर एली भनेर बेचिने सेरेने, चिपज्, क्याविन्ज रब्डी, ब्रिटभिक, वाइट्स लेमनेडलगायतका थुप्रै विदेशी ब्रान्डकई ड्रिङ्स रोकियो । तर यसले नयाँ ढोका पनि खोल्यो त्यो हो नेपाली बजारमै इनर्जी ड्रिङ्सको उद्योगको स्थापना । झण्डै चार वर्षको अवधिमा नै नेपालमा आठवटा उद्योगले इनर्जी ड्रिङ्स उत्पादन सुरु गरिसकेका छन् भने १२ वटा स्थापनाको चरणमा छन् । आयात प्रतिबन्धपछि नेपालीमा इनर्जी ड्रिङ्सको बजार र स्थापना भएका उद्योगको चुनौतीबारे रिलायबल फुड्स एन्ड बेभरेज प्रालिका प्रबन्ध निर्देशक अशोक शाहसँग किरण आचार्य र हिम विष्टले गरेको कुराकानीको सम्पादित अंशः

सरकारले नेपालमा इनर्जी ड्रिङ्सको आयातमा प्रतिबन्ध लगायो । आयात प्रतिबन्ध लगाएको झण्डै चार वर्ष भयो । आयात प्रतिबन्धपछि इनर्जी ड्रिङ्सको बजार कस्तो छ ? 

नेपालमा रेडबुल, रेड स्टार र रेड ब्लु बढी आयात हुन्थ्यो । आयात प्रतिबन्धभन्दा अगाडि खपत र नेपाली बजार हेर्ने हो भने समग्रमा इनर्जी ड्रिङ्सको बिक्री सात लाख कार्टुनभन्दा बढी थिएन । विभिन्न कारणले गर्दा नेपाल सरकारले आयात रोक्ने नीति–नियम बनाएका कारण आयात बन्द भयो । इनर्जी ड्रिङ्सको पहिले जति बजार थियो त्यो अहिले छैन किन भने भने विभिन्न नकारात्मक कुरा जुन बढीजसो मिडियामा आउने मुद्दा हुन्, यसका साथै इनर्जी ड्रिङ्स खाँदा हुने असरहरूबारे मान्छेहरू सचेत भए । इनर्जी ड्रिङ्स मान्छेले दुई कारणले खान छोडिदियो । एउटा, यसमा नराम्रो कुरा छ भनेर दोस्रो आयात प्रतिबन्धले । आयात रोकिएपछि सबै ठाउँमा सहजै उपलब्ध पनि भएन । त्यसैले त्यतिबेलाको व्यापार र आजको व्यापारमा धेरै फरक भएको छ ।

आयात प्रतिबन्ध भएपछि नेपालमै इनर्जी ड्रिङ्सको उद्योग खोल्न सुरु भयो । तपाईंहरूले पनि आयात छोडेर उद्योग स्थापना गर्नुभयो । यो क्षेत्रको उद्योगको स्थिति अहिले कस्तो छ ? 

नेपालमा जुनसुकै उद्योग गर्नलाई एकदमै गाह्रो छ । तर इनर्जी ड्रिङ्स उद्योगका लागि ममात्रै होइन धेरै साथी किन उत्साहित भइरहेका छन् भने नेपालमा यसको माग छ । इनर्जी ड्रिङ्स खानुपर्छ भन्ने अवधारणा विकास भइसकेकाले उद्योग खोलौं भन्ने लागिरहेको छ । तर यसको उद्योग सञ्चालनका लागि धेरै समस्या पनि छन् । उद्योग खोल्नु पर्छ–पर्दैन ? नेपालको बजारको स्थिति के छ ? भोलिका दिनमा आयात गर्दा यसलाई चाहिने कच्चा पदार्थको चुनौती के छ ? सरकारको नीति के छ ? यो सबै कुराको अध्ययन भने गरिएको छैन । 

तर प्रतिस्पर्धात्मक हिसाबले तपाईं पनि उद्योग खोल्ने, म पनि उद्योग खोल्ने जस्ता कारणले धेरै साथीहरू बजारमा आइसके । अहिले उत्पादनमा मात्रै आइसकेको उद्योग हेर्नुहुन्छ भने आठवटा भइसके । थप १० वटा उद्योग स्थापनाका क्रममा छन् । मुख्य कुरा के हो भने जति उत्पादन हुन्छ त्यो नेपालका लागि पुग्छ कि पुग्दैन ? आएका उद्योगले नेपाललाई के गर्छ ? अहिले हेर्ने हो भने इनर्जी ड्रिङ्सको खपत धेरैमा धेरै चार लाख कार्टुन पनि देखिँदैन । जबकि आयातको समयमा सात लाख कार्टुन बिक्थ्यो । चार लाख कार्टुन उत्पादन गर्न नेपालमा दुईवटा उद्योग पर्याप्त छ । अहिले नै आठवटा उद्योग स्थापना भइसकेको छ भने थप स्थापना हुने प्रक्रियामा छन् । कसैको मेसिन आइसक्यो, कसैको जडानको प्रक्रियामा छ । भोलि उनीहरूले कहाँ बेच्ने ? त्यो उत्पादन नेपालमा त बेच्न सकिँदैन । नेपालमा बेच्न नसक्ने हो भने निर्यातका लागि गुणस्तर कायम गर्न सक्छन् कि सक्दैनन् ? 

प्रत्येक देशको खाद्यसम्बन्धी आफ्नै नीति नियम हुन्छ । त्यो पूरा गर्न सकिन्छ कि सकिदैन ? यो चुनौतीपूर्ण विषय हो । त्यसैले अहिले जति पनि उद्योग स्थापना भएका छन् त्यो नै पर्यात भइसकेको छ । त्यसमा कति चल्न सक्छ कि सक्दैन ? कतिपय चलि पनि रहेको छ, कति बन्द पनि भइरहेको छ । कोही जडानका प्रक्रियामा छन् । त्यसैले इनर्जी ड्रिङ्सका लागि मानिस जति पनि उत्साहित भएर अहिले लागिरहेका छन्, त्यो स्वाभाविक होइन र राम्रो होइन । 

इनर्जी ड्रिङ्स आयातमा प्रतिबन्ध लगाउँदा यो स्वास्थ्यका लागि हानिकारक छ भनेर प्रचार गरियो । फेरि नेपालमा त्यही शैलीका उद्योग स्थापना गर्न दिइयो । यो खास के हो ?

इनर्जी ड्रिङ्स बन्द हुनुमा नेपाल सरकारको दुइटा कुरा आयो । पहिलो त आयात गर्दा डलर बढी गयो भन्ने थियो । अर्को यसमा हालिने क्याफिन हानिकारक छ भन्ने भयो । यसरी इनर्जी ड्रिङ्समात्र हानिकारक छ भन्न त मिल्दैन थियो । कोक, प्mयान्टामा पनि क्याफिन छ । कफीमा पनि क्याफिन छ । इनर्जी ड्रिङ्स खाँदा असर गर्छ भने अमेरिका, क्यानडा, युकेलाई हेरौं न कतै पनि प्रतिबन्ध गरिएको छैन । नेपालमात्रै एउटा देश हो जहाँ आयातमा रोक लगाइएको छ । किनकि, वास्तविकता बुझिएको छैन । इनर्जी ड्रिङ्सलाई कसरी हेर्नुपर्छ भने हामी कति काम गर्छौं ? कति खेर खानुपर्छ ? भन्ने महत्वपूर्ण विषय हो । काम गरेर एउटासम्म खाँदा ठीक हुन्छ तर नेपालमा एक दिनमा एक जनाले तीनवटासम्म खाइदिन्छ त्योचाहिँ उपयुक्त होइन । 

नेपालमा स्थापना भएका उद्योगले इनर्जी ड्रिङ्स निर्यात गर्न सक्ने सम्भावना कति छ ?

निर्यात गर्न नेपाल सरकारले नीति बनाउनुपर्छ । नेपालमा उत्पादन हुने इनर्जी ड्रिङ्सको एउटा मापदण्ड पनि तय हुनुपर्छ । प्रत्येक देशको खाद्य नियम हुन्छ । नेपालमा पनि एउटा नीति र मापदण्ड बनाएर सरकारले निरीक्षण गर्नुपर्छ । निरीक्षण नगर्दा उत्पादन गरेर निर्यात त गरौंला तर यसको गुणस्तर ठीक भएन भने त विदेशमा चल्दैन । खासगरी यसमा हाल्ने ‘इन्ग्रिडेन्स’ के हो ? प्रष्ट भएपछि मात्रै निर्यात गर्न सकिन्छ होला । इनर्जी ड्रिङ्स पहिले अस्ट्रियाबाट सुरु भयो । त्यसपछि थाइल्यान्डबाट अनि मलेसियाबाट पनि सुरु भयो । यसरी उत्पादन भएको इनर्जी ड्रिङ्स ती मुलुकले निर्यात गर्छन् नै । मलेसिया, थाइल्यान्डमा हेर्दा यसको उपभोगकर्ता त्यहाँ जाने नेपाली, बंगलादेशी हुन् । मलेसियामा मलेसियनले, थाइल्यान्डमा थाइल्यान्डवासीले इनर्जी ड्रिङ्स नै प्रयोग गर्दैनन् । बाहिरी मुलुकबाट गएकाले मात्रै खान्छन् । त्यहाँ उत्पादनका लागि सरकारको नीति नियम छ, मापदण्ड छ । त्यस्तै नियम नेपालमा भयो भने निर्यातको पनि सम्भावना हुन्छ । 

आन्तरिक बजारका लागि समेत गुणस्तर परीक्षणमा समस्या छ । सरकारी निकायबीच समन्वय छैन भन्ने गुनासो छ, ट्रेडमार्क चोरीकै प्रसंगसमेत आयो । यो समस्याबारे के भन्नुहुन्छ ? 

नेपालमा हाम्रो प्रोडक्टमात्रै राम्रो भनेर आफैले त भन्न मिल्दैन तर अन्य उद्योगहरूको उत्पादन हेर्ने हो भने कसैको सुगर मिलेको छैन, कसैको क्याफिन मिलेको छैन तर पनि स्वीकृति पाएर बजारमा बेचिरहेका छन् । नेपालमा इनर्जी ड्रिङ्स खानुपर्छ भन्ने मान्छे छन् तर पनि तिनीहरू नै अन्योलमा छन् कि कुन सक्कली हो कुन नक्कली हो । नेपालमा जति पनि इनर्जी ड्रिङ्स उत्पादन हुन्छन्, त्यसमा हामी ‘लिडर’ भएर गएका छौं । त्यसको कारण हामी गुणस्तरमा केन्द्रित छौं । जसले रेड ब्लुु खान्छ त्यसपछि बजारमा पाउने अर्को खाँदैन । अरुले त्यो मेन्टेन नगरेको भन्र खोजेको होइन, तर गुणस्तरको कुरा गर्दा उत्पादनका लागि चाहिने तत्वहरू जुन छनोट गर्नुपर्छ त्यसमा वास्तविक रूपमा गर्न सकेका छैनन् । 

जति पनि इनर्जी ड्रिङ्स नेपालमा उत्पादन भएको छ, त्यसमा मापदण्डको कुरा छ । उत्पादन भएकोमा आवश्यक तत्व छ कि छैन ? गुणस्तरीय हो कि होइन ? परिमाण पनि पर्याप्त छ कि छैन ? यसमा सरकारबाट समय समयमा जाँच गरेर कमी–कमजोरी भएको छ भन्यो भने हामीले सुधार गर्न सक्छौं । त्यस्तो निकाय आजसम्म नेपालमा छैन । मेरो र अरुकोमा के फरक छ त ? छुट्ट्याइदिनु प¥यो नि त । वास्तविक कन्टेन्ट हालेको छ कि छैन त्यो पनि हेर्नुप-यो । जहाँसम्म नेपालमा इनर्जी ड्रिङ्स आयातको प्रतिबन्ध गर्दा क्याफिनको कुरो आयो, अहिले नेपालमा क्याफिन हाल्न पाइन्छ, आयात गर्न पाइँदैन । तर, यो नहाली इनर्जी ड्रिङ्स नै बन्दैन । त्यसैले कहाँबाट क्याफिन ल्याएर हालेका छन् ? आयात गरिरहेको छ भने कसले गरिरहेको छ ? के कति मात्रामा हालिएको छ ? नेपाल सरकारले त हेर्दिनु प-यो । तर अहिलेसम्म छैन । 

तपाईंहरूले चाहिँ कुन मापदण्ड अपनाउनुभएको छ ? 

नेपालमा जति पनि इनर्जी ड्रिङ्स उत्पादन भएका छन्, त्यी सबै स्थानीय उत्पादन छन् । आफै विश्लेषण गरेर बनाइरहेका छन् । हाम्रो रेड ब्लु भनेको भियतनाम ओरिजिन भएको प्रोडक्ट हो र त्यसको सहकार्यमा उत्पादन गरिरहेका छौं । आज अन्तर्राष्ट्रिय रूपमा हेर्नुहुन्छ भने विश्वका धेरै ठाउँमा रेड ब्लु पाइन्छ । उनीहरूले पनि त मापदण्ड पूरा गरेर अन्तर्राष्ट्रिय बजारमा पठाइरहेको होला । हामीले गुणस्तरीयता, सम्बन्धन, सहकार्यमा ध्यान दिएका छौं । हाम्रो उत्पादनका लागि आवश्यक तत्वको कुरा सबै भियतनामबाट छनोट भएर आएको हुन्छ र उनीहरूको मान्छे आएर सहकार्य गरेर मात्रै हामीले उत्पादन गरेका छौं । भियतनामबाटै कम्पनीबाट आएको प्रतिनिधिले ल्याब परीक्षण गरेर दिन्छ । हामी सबैभन्दा राम्रो किन भयौं भने कच्चा पदार्थको गुणस्तर राम्रो भएकाले हाम्रो इनर्जी ड्रिङ्स राम्रो छ । 

कच्चा पदार्थको सबै बाहिरबाट ल्याउनुपर्ने हुन्छ कि नेपालमै छन् ? 

अधिंकाश कच्चा पदार्थ नेपालमै छन् । केही कुरामात्र बाहिरबाट ल्याउने गरेका छौं । मैले किन केही कुरामात्र विदेशबाट ल्याएको भने भने यहाँ उत्पादन गर्दा पनि आयात गर्दाको स्वाद हुन्छ । रेड ब्लु प्रतिको मान्छेमा अलिकति झुकाव गर्नुका कारण भनेको आयात गर्दाको स्वाद यथावत छ । 

प्रतिबन्ध लगाइसकेपछि पनि नेपालमा चोरी निकासी गरेर बाहिरबाट इनर्जी ड्रिङ्स भित्रिरहेको छ कि छैन? 

इनर्जी ड्रिङ्स आयात प्रतिबन्ध भएको सबैलाई थाहा छ । नेपालमा जुन उत्पादन भएको छ, त्यो पाउनु स्वाभाविक भयो । आजको दिनमा रेडबुलको कुरा गर्ने हो भने भारतमा पनि उत्पादन हुन्छ । अहिले नेपालभरि नै रेडबुल पाउँछ । त्यो भनेको चोर कै बाटो आउने हो । अब चोरीको बाटो आउने भनेको भन्सारकै माध्यमबाट आउने हो । कतै न कतै हाम्रै सरकारबाट नै कमी–कमजोरी भएको हो । सरकारले चोरी निकासीबाट आएको इनर्जी ड्रिङ्सको अलिकति हेरविचार ग-यो भने नेपालमा सञ्चालन भइरहेका उद्योगलाई केही न केही राहत हुन्छ । 

नेपाली बजारमा पनि उत्पादन हुन्छ, बाहिरबाट चोर बाटो हुँदै पनि भित्रिरहेको छ अनि बजारमा सक्कली र नक्कली कसरी चिन्ने ? 

नेपालमा जति पनि उत्पादन भएको छ, त्यो सबै ट्रेडमार्क दर्ता भएर हो । त्यो भनेको हामी फ्रेन्चाइज लिएर यहाँ उत्पादन गरेका छौं । नेपालमा कुनै पनि सक्कली र नक्कली भन्ने छैन किनभने सबै नेपाली उत्पादन बनिसकेको छ । अहिले जति पनि प्रोडक्ट पाउँछ त्यो सबै नेपाली उत्पादन हो । कसको गुणस्तर राम्रो, कसको नराम्रोभन्दा जसले राम्रो खालको कच्चा पदार्थ प्रयोग गरेको छ त्यो सक्कली र राम्रो कच्चा पदार्थ राम्रो भएन भने त्यो नक्कली नराम्रो भयो । 

कानुनी रूपमा तपाईं आफैंले पनि समस्या बेहोर्नु प-यो होइन ?

कानुनी रूपमा त सबै उद्योगहरूले कपिराइट लिएर ट्रेडमार्कमा दर्ता गरेर उत्पादन गरिरहेका छन् । हाम्रो समस्या के थियो भने रेडबुल र रेड ब्लु एउटै भयो भन्ने प्रसंग जोडियो । नेपालमा जब म आयात गर्थें र आयातकर्ताको रूपमा मुद्दा हालिएको हो । नेपालमा यति धेरै कुरा छन् जुन उत्पादनको लागि अरुसँग निर्भर नै छौं । धेरै कुरा त आयात गरेर बेच्ने नै हो । बजारमा जुन पनि प्रोडक्ट पाउँछ, मैलेमात्र होइन जसले पनि कहीँ न कहीँबाट आयात गरेर ल्याएर बेच्छन् । त्यसरी नै रेड ब्लुु पनि आयात गरेर नै ल्याएको हो । त्यतिबेला आयात गर्न नपाउने भन्ने केश थियो । अब हामीले किन नपाउने त ? जुन अन्तर्राष्ट्रिय बजारमा पाइरहेको छ भने नेपालमा किन नपाउने ? हामी माथि केश भयो, उच्च अदालतमा गयो, टे«डमार्कमा गयो । टे«डमार्कमा रेडबुल र रेड ब्लुको फरक हो भनेर फैसला भयो । रेड भनेको रातो भयो जसमा कलरमा कसैको अधिकार लाग्दैन । बुल भनेको साँढे भयो ब्लु भनेको नीलो भयो । यसरी परिभाषा भएपछि हामी फेरि ट्रेडमार्कमा गयौं र पुनः उत्पादन सुरु ग¥यौं । 

इनर्जी ड्रिङ्स उत्पादन गरिरहँदा भोगिरहेका समस्या र गर्नुपर्ने समाधानहरू केके छन् ?

इनर्जी ड्रिङ्स उत्पादन र बजार अहिले चुनौती नै बनेको छ । नेपालको जम्मा खपत चार लाख कार्टुन हो जुन मैले यसअघि पनि भने । अहिले १० वटा उद्योगले निरन्तर उत्पादनमा छन् । नेपालमा जति पनि यस्ता उद्योगहरू छन् । भोलिका दिनमा सबैले यै बजारमा प्रतिस्पर्धा गर्ने हुन् । मेरो उद्योगको क्षमता चार लाख कार्टुन छ भने एक लाख मात्र त ल्याउँदिन । यस्तो अवस्थामा गुणस्तरको प्रतिस्पर्धा हुन्छ । अर्को कुरा उद्योग त स्थापना भयो तर बिक्री त नेपालमै गर्नुपर्छ । नेपालमा जति उद्योग छन् सबै मेसिनहरू बाहिरबाट आयात हुन्छ । एउटा उद्योग स्थापना गर्न आठदेखि १० करोड रुपैयाँ लाग्छ । मेसिन आयात गरेर ल्यायो, नेपालमा प्रोडक्सन ग¥यो । चलेन भने हामीले त्यो मेसिन बेच्न सक्ने क्षमता हुँदैन । कतै न कतै त्यो नेपालकै पैसा डुबिरहेको हुन्छ । यस्तो अवस्थामा कतिवटा उद्योग खोेल्ने त ? एउटा प्रदेशमा एउटा उद्योग खोल्ने कि ? एउटै प्रदेशमा १० वटा उद्योग खोल्ने कि ? स्पष्ट नियम नबनाउँदा एउटा न एउटा त उद्योगी समस्यामा पर्छ नै । त्यसैले यसमा विचार गर्ने बेला भइसकेको छ । 

(टक्सार म्यागजिन, जेठ २०७९, पृष्ठ ५२–५५)