अर्थमन्त्री पौडेलको आह्वानः नेपाल लगानीका दृष्टिकोणले सुरक्षित छ, लगानी बढाउनुस्


काठमाडाैँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल लगानीका दृष्टिकोणले सुरक्षित मुलुकका रूपमा प्रमाणित भएको बताएका छन् ।

शुक्रवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो दाबी गरेका हुन् । उनले सार्वभौम क्रेडिट रेटिङको नतिजासँगै नेपाल लगानीका लागि सुरक्षित रहेको प्रमाणित हुने जिकिर गरे। उनले क्रेडिट रेटिङको काम सरकारले शुरु गरेको र यो अन्तिम नभइ शुरुवात भएको बताए । उनले क्रेडिट रेटिङलाई निरन्तरता दिने र आवधिक रुपमा अर्थतन्त्रको स्वास्थ्य स्थितिलाई सार्वजनिक गर्दै जाने बताए ।

उनले यस पटकको क्रेडिट रेटिङ र यसको नतिजाले स्वभाविक रूपमा नेपाल लगानीका लागि अनुकुल गन्तव्य भएको सन्देश विश्वव्यापी रूपमा गएको बताए । उनले नेपालमा लगानी गर्न आह्वान गर्दै नेपालमा लागनी गर्नेहरूले राम्रो प्रतिफल पाउने जिकिर गरे । नेपालमा लगानी गर्नका निम्ति उत्साहका साथ सहभागी हुन आह्वान गरे । उनले नेपालको अर्थतन्त्रलाई अझ सबल, सुदृढ र शक्तिशाली बनाउने र लगानीका निम्ति अझ अनुकुल परिस्थिति निर्माण गर्न सबैले समान भुमिका खेल्नुपर्ने बताए ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले कन्ट्रि रेटिङमा नेपालले डबल बी माइनसको रेटिङ पाएको र यो दक्षिण एशियामा अनुकुल नतिजा रहेको बताए । उनले क्रेडिट रेटिङको नतिजा प्रकाशित गर्ने मात्र नभइ आउने दिनमा प्रत्यक्ष वैदेशिक लगानीका निम्ति अनुकुल हुने परिस्थिति निर्माण गर्न कानूनी र संरचनागत सुधार गर्न तयार रहेको बताए ।