काठमाडौं । सरकारले भन्सारदर घटाएपछि सुनको मूल्य ह्वात्तै घटेको छ । सोमबार छापावाल सुनको मूल्य तोलामा १५ हजार ९०० रुपैयाँले घटेको छ ।
आइतबार १ लाख ६७ हजार २०० रुपैयाँमा प्रतितोला किनबेच भएको छापावाला सुनको मूल्य सोमबार १५ हजार ९०० रुपैयाँले घटेर १ लाख ५१ हजार ३०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी महासंघले जनाएकाे छ ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला ११५ रुपैयाँ घटेर १ हजार ८४५ रुपैयाँ कायम भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सुनचाँदीको भन्सार दर घटाएको छ । सरकारले सुनको भन्सारदर २० प्रतिशतबाट १० प्रतिशतमा झारेको छ भने चाँदीको भन्सार दर १५ प्रतिशतबाट १० प्रतिशत बनाएको छ । सरकारले भन्सार दर घटाएपछि सुनचाँदीको मूल्य पनि घटेको हो ।
चालु आर्थिक वर्षमा सुनको आयात घटेपछि अनौपचारिक बाटोबाट सुन आउन थालेको आशंका गरेर सरकारले भन्सारदर घटाएको हो। बजेटमार्फत भन्सार दर घटाएपछि भारतमा सुनको मुल्य सस्तिएको थियो ।
प्रतिक्रिया दिनुहोस्