काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ) मा नेपालले ‘बीबी माइनस’ रेटिङसहितको सन्तोषजनक नतिजा प्राप्त गरेको जनाएको छ ।
अन्तर्राष्ट्रिय एजेन्सी ‘फिच रेटिङ’ ले गरेको सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ) मा नेपालले ‘बीबी माइनस’ रेटिङसहितको सन्तोषजनक नतिजा प्राप्त गरेकोमा सिबिफिन गर्वित एवं उत्साहित भएको उल्लेख गरेको छ ।
दक्षिण एशियाका अन्य मुलुकहरुमध्ये छिमेकी मित्रराष्ट्र भारतभन्दा पछिको दोस्रो उच्च सार्वभौम साख मूल्याङ्कनको प्राप्तिले नेपालको साख र विश्वसनीयता बढाएको मात्र नभई यसले अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि नेपाल सुरक्षित, विश्वसनीय र भरपर्दो स्थान भएको प्रमाणित समेत गरेको सिबिफिनले जनाएको छ ।
मुलुकको अर्थतन्त्रका बाह्य सूचकहरु निकै बलियो स्थितिमा रहेको, पर्याप्त तरलतासहित न्यून ब्याजदर कायम हुँदाहुँदै पनि अपेक्षितरुपमा लगानी÷कर्जा विस्तार हुन नसकि आर्थिक गतिविधिहरुले तीव्रता लिन नसकिरहेको वर्तमान सन्दर्भमा भएको यस मूल्याङ्कनले समग्र निजी क्षेत्रमा समेत विश्वासको वातावरण सृजना गरेको र लगानी विस्तार, कर्जा प्रवाह तथा पूँजी परिचालनको लागि ठूलो अवसर सृजना गरेको सिबिफिनको बुझाइ छ ।
त्यसैगरी यस मूल्याङ्कनले बैंक÷वित्तीय संस्थाहरूलाई बाह्य जगतबाट सहुलियत दरमा ऋण ल्याउन, पुनर्बिमा कम्पनीले अन्य देशमा व्यवसाय विस्तार गर्न, धितोपत्र बजारलाई अन्तर्राष्ट्रियकरण गर्न, विदेशी बजारमा ऋण लिन÷ऋणपत्र बिक्री गरी वित्तीय साधन जुटाउनका लागि सञ्जिवनी बुटीको कार्य गर्ने सिबिफिनको विश्वास छ ।
प्रतिक्रिया दिनुहोस्