राजस्व चुहावट रोक्न तीन विभागबिच सहकार्य, कडाइका उपायहरू अपनाइने


काठमाडौँ । आन्तरिक राजस्व विभागमा हिजाे (आइतबार) आन्तरिक राजस्व विभाग, भन्सार विभाग, र राजस्व अनुसन्धान विभागका प्रमुखहरूको संयुक्त बैठक सम्पन्न भएकाे छ। बैठकले राजस्व चुहावट र कर छली नियन्त्रण गर्न एकीकृत रणनीति अपनाउँदै विभिन्न निर्णयहरू गरेको छ।

बैठकमा तीन विभागबिच सूचनाको आदानप्रदानलाई थप सुदृढ बनाउन सहमति भएको छ। राजस्व चुहावटका जोखिम क्षेत्र, वस्तु, नाका, र समूहहरूको पहिचान गरी सूचना संकलन र विश्लेषणमा जोड दिइने छ। साथै, विभागीय सूचना प्रणालीहरूलाई आपसमा जोडेर कर परीक्षण, भन्सार जाँचपछिको परीक्षण, र बजार अनुगमनलाई प्रभावकारी बनाउने निर्णय गरिएकाे विभागले जनाएकाे छ ।

बैठकले संयुक्त गस्ती सञ्चालन गरेर कर छलीका घटनामा कारबाहीको दायरालाई फराकिलो बनाउने नीति पनि तय गरेका छ। शंकास्पद कारोबार र अनधिकृत गोदामहरूलाई विशेष निगरानीमा राखिनेछ भने व्यक्तिगत खाताबाट व्यवसायिक कारोबार गर्ने प्रवृत्तिलाई रोक्न अन्तर निकाय समन्वयमार्फत निगरानी गरिने निर्णय बैठकले गरेकाे छ ।

फर्म तथा कम्पनीहरूको फेक दर्ता रोक्न र आर्थिक रूपमा कमजोर व्यक्तिहरूको नाममा कारोबार गरी कर छली गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न कडा कदम चालिने विभागले जनाएकाे छ । त्यस्तै खुला सिमानाबाट हुने चोरी पैठारी र कर छली नियन्त्रणका लागि स्थानीय समन्वय समितिहरूलाई थप सक्रिय बनाउने तथा उनीहरूको निर्णय कार्यान्वयनलाई नजिकबाट अनुगमन गरिने निर्णय समेत भएकाे छ ।

बैठकले राजस्व चुहावट र कर छली रोकथाममा साझा रणनीतिहरू तय गर्दै, आर्थिक प्रणालीलाई पारदर्शी र कानुनी दायरामा ल्याउन ठोस कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेको छ।