कार्कीको नेतृत्वमा नाफिजमा नयाँ कार्य समिति निर्वाचित


काठमाडौँ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) मा मेनुका कार्कीको नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित भएको छ । शनिबार सम्पन्न नाफिजको १५ औँ वार्षिक साधारण सभा तथा सातौँ महासभाले मेनुका कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

यसअघि नाफिजको उपाध्यक्ष रहेकी कार्कीले १०० मत पाउँदा उनका प्रत्यासी इन्द्र बानियाँले ८७ मत प्राप्त गरेका थिए ।

नाफिज कार्य समिति १३ सदस्यीय हुनेछ । त्यसमा शनिबारको महासभाले एक अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, एक सचिव, एक कोषाध्यक्ष र चार सदस्य गरि १० सदस्य निर्वाचित गरेको छ । निर्वाचन समिति संयोजक कपिलदेव ढकालकाअनुसार उपाध्यक्षमा पिताम्बरी खतिवडा (प्रमिला) र निरोजकुमार थापा निर्वाचित भएका छन् । खतिवडाले १०४ र थापाले ९३ मत प्राप्त गरेका थिए । उनीहरूको प्रतिस्पर्धी प्रमेश्वर अधिकारीले ९२ र विजय दमासेले ६५ मत प्राप्त गरेका थिए ।

त्यस्तै, महासचिवमा निकेश खत्रीले ११२ मत प्राप्त गरि बिजयी भएका छन् । उनका प्रतिस्पर्धी नविन ढुंगानाले ६६ मत प्राप्त गरेका थिए । सचिवमा भने राजाराम न्यौपाने निर्वाचित भएका छन् ।

उनले १२६ भोट ल्याउँदा उनका प्रतिस्पर्धी चेतनारायण पाण्डले भने ५७ मत प्राप्त गरेका थिए । कोषाध्यक्षमा भने मिलन विश्वकर्मा निर्वाचित भएका छन् । विश्वकर्माले १०२ मत ल्याउँदा उनका प्रतिस्पर्धी भोला देवकोटा (परिवर्तन) ले ८३ मत ल्याएका थिए ।

यसैगरी, सदस्यमा अनिस मिजारले १२०, अनुप आचार्यले ११८, चित्रराज भण्डारीले ११६ र शुक्र गिरीले १०७ मत ल्याएर बिजयी भएका छन् । अर्का प्रतिस्पर्धी आशुतोष अर्यालले ९२ मत ल्याएका थिए ।