काठमाडौँ । पशु विभागका महानिर्देशक उमेश दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा भैँसीको मासु निर्यात गर्ने सम्झौतामा धन्यवाद व्यक्त गरेका छन्।
प्रधानमन्त्री ओलीको चीनको भ्रमणका क्रममा नेपालबाट प्रशोधित राँगाभैँसीको मासु निर्यात सम्बन्धी सम्झौता भएको र सोही सम्झौता बमोजिमको बृहत् परियोजना कार्यान्वयन घोषणा कार्यक्रममा बोल्दै दाहालले नेपालले दूध, दुग्धजन्य पदार्थ र मासुमा आत्मनिर्भरता हासिल गर्दै, मासु निर्यातको सुरुवात गरेकोमा प्रधानमन्त्री ओलीलाई धन्यवाद व्यक्त गरे ।
महानिर्देशक दाहालले नेपालबाट चीनलाई ३ अर्ब रुपैयाँ बराबरको छुर्पी र १२० मेट्रिकटन मासु निर्यात भइरहेको जानकारी दिए। उनले भने, “नेपालले भैँसी पालनमा आत्मनिर्भरता हासिल गरेको छ, तर गाईभैँसीमा लाग्ने खोरेत रोग निर्यातका लागि प्रमुख बाधक बनेको छ।”
उनले खोरेत रोगको संक्रमण नियन्त्रणका लागि ७० प्रतिशत गाईभैँसीलाई खोप लगाइसकेको र बाँकी खोप लगाउने प्रक्रिया जारी रहेको बताए।
यस वर्षदेखि भैँसी पालनमा वृद्धि गर्ने उद्देश्यले ३० पालिकामा विशेष कार्यक्रम सुरु गरेको पनि उनले बताए। दाहालले मुलुकलाई खोरेत रोग मुक्त गर्नका लागि पशु विभाग सक्रिय रहेको र यो रोगको निर्मूलनको अभियानमा जोड दिएको बताएका छन्। उनका अनुसार, २-३ वर्षभित्र नेपाललाई खोरेत रोगमुक्त मुलुक घोषणा गर्ने लक्ष्य राखिएको छ।
प्रतिक्रिया दिनुहोस्