पर्यटन बोर्डद्धारा विभिन्न देशका प्रस्तावित राजदूतहरूसँग अन्तरक्रिया


काठमाडाैँ । नेपाल पर्यटन बोर्डले विभिन्न देशका प्रस्तावित नेपाली राजदूतहरूसँग अन्तरक्रिया सम्पन्न गरेको छ ।नेपाली पर्यटनको अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न दूतावास,बोर्ड र पर्यटन व्यवसायीहरूबिच प्रभावकारी सहकार्य र समन्वय गर्ने उपायहरूका बारेमा छलफल तथा विचार आदानप्रदान गर्ने मुख्य उदेश्यकासाथ बुधबार नेपाल पर्यटन बोर्डमा सो अन्तरकृया आयोजना गरिएको हो ।

अन्तरक्रियामा विभिन्न देशका प्रस्तावित राजदूतहरूले बोर्ड र दुतावासहरूबिचको सहकार्यबाट नेपालको पर्यटन प्रर्वद्धन गर्न सकिनेमा जोड दिएका थिए । उनीहरूले नेपालको प्राकृतिक सुन्दरता, सांस्कृतिक सम्पदा, र साहसिक पर्यटनका अवसरहरूबारे आफुहरूले भरमग्दूर प्रयास गर्ने भन्दै नेपाल प्रर्वद्धनको आवश्यक सहकार्यका लागि बोर्डको साथ आवश्यक भएको बताए ।

कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव तथा पर्यटन बोर्डका अध्यक्ष डा.गणेशप्रसाद पाण्डले दुतावासको लागि आवश्यक प्रवर्द्धनात्मक सामग्री तथा विदेशमा आयोजना हुने कार्यक्रममा समन्वय गर्ने बताए । बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटा (कमल) ले नेपाललाई अल सिजन डेस्टिनेशनका रूपमा प्रचार गर्न सके पर्यटक आगमन बढाउन सकिने भन्दै राजदुतहरूबाट सो अपेक्षा गरिएको बताए ।

सो अवसरमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले नेपाल पर्यटन बोर्डका गतिविधिबारे जानकारी गराउँदै आवश्यक सहकार्यका लागि बोर्ड सधैं तयार रहेको बताए । कार्यक्रममा प्रस्तावित नेपाली राजदूत डा.शंकर शर्मा,(भारत), प्रा.डा.कपिल श्रेष्ठ (दक्षिण अफ्रिका), चित्रलेखा यादव,(अष्ट्रलिया), सम्निमा तुलाधर (डेनमार्र्क), सेवा लम्साल (बेल्जियम तथा युरोपियन युनियन), नेत्रप्रसाद तिमिल्सेना (मलेशिया), जंग बहादुर चौहान (रसिया),सनिल नेपाल (स्पेन),पूणर् बहादुर नेपाली (श्रीलंका), प्रकाशमणी पौडेल (पोर्चुगल) लगायतले धारणा राख्दै पर्यटन आर्थिक आर्थिक कुटनीतिको महत्वपूर्ण क्षेत्र भएकोले नेपाल र नेपालीको हितका लागि आफूहरु काम गर्न प्रतिवद्ध रहेको धारण राखे ।

यस्तै कार्यक्रममा होटल एशोसिएसन नेपाल (हान), प्यासिफिक एशिया ट्रावल एशोसिएसन (पाटा), नेपाल एशोसिएसन अफ टुर एण्ड ट्रावल एजेन्ट्स (नाटा), स्कल इन्टरनेशनल, नेपाल राफ्टिङ एजेन्सिज (नारा),सोसाइटी अफ ट्रावल एण्ड टुरिजम अपरेटर्स नेपाल ९सोट्टो० टुरिजम सिस्टरहुड अर्गनाइजेशन लगायतका संस्थाका अध्यक्षहरूकाे सहभागीता थियो ।