उद्योगमन्त्री भण्डारी र कोरियाली समकक्षी च्योङ बिच व्यापार तथा लगानी प्रर्वद्धन सम्झौता


काठमाडाैँ । उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारी र दक्षिण कोरियाली समकक्षी इन्क्यो च्योङबिच द्विपक्षीय व्यापार तथा लगानी प्रर्वद्धन फ्रेमवर्कमा सम्झौता भएको छ ।

गणतन्त्र दक्षिण कोरिया र नेपालको द्विपक्षीय सम्बन्ध स्थापित भएको ५० वर्ष पुगेको अवसरमा कोरिया भ्रमणमा रहेका मन्त्री भण्डारीले आज कोरियाको राजधानी सिओलमा आयोजीत एक समारोहकाबिच उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

उनले अवसरमा मन्त्री भण्डारीले दक्षिण कोरिया र नेपालको द्विपक्षीय सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको महत्वपूर्ण अवसरमा गरिएको TIPF सम्झौताले दुई देशबिचको कुटनितीक, सांस्कृतिक र आर्थिक सम्बन्धहरू नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरे ।उनले नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण निर्माण गर्न प्रतिवद्धता समेत व्यक्त गरे ।

मन्त्री भण्डारीका समकक्षी च्योङले दक्षिण कोरियाली कम्पनीहरु द्वारा नेपालमा सञ्चालन भईरहेका जलविद्युत अटाेमाेबाइल्स एसेम्बली लगायतका क्षेत्रमा भएका लगानी तथा कार्यहरूको स्मरण गर्दै TIPF सम्झौताले दुई देश बीचको द्विपक्षीय सम्बन्ध र आर्थिक सहकार्यलाई नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गरे ।

सर्वोच्च शिखर सगरमाथाका प्रथम आरोही एडमण्ड हिलारीले तेन्जिङ नोर्गे शेर्पा सँगको सहकार्यमा सगरमाथाको सफल आरोहण गरेको उदाहरण दिँदै कोरिया र नेपाल अर्काको सहयात्री बन्नुपर्ने धारण राखे ।

नेपाल र गणतन्त्र कोरियाका निजी क्षेत्रका उद्योगी तथा व्यवसायी हरूको सहभागिता रहेको उक्त कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालमा वैदेशिक लगानीको वातावरण र अवसर हरूको बारेमा प्रस्तुतीकरण गरे ।

कोरिया/नेपाल विजनेश फोरमको उक्त कार्यक्रममा नेपालको सरकारी पक्षबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, लगानी बोर्ड, सिओल स्थित नेपाली राजदुतावास का साथै नेपालको निजी क्षेत्रका उद्योगी तथा व्यावसायीहरूको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल सहित करिब ३० जना उद्योगी व्यवसायीहरुको सहभागिता रहेको भ्रमण टोलीमा सहभागी उद्योग मन्त्री भण्डारीका स्वकीय सचिव आनन्द भट्टले बताए ।