व्यवसायीहरू भन्छन्ः नयाँ प्रविधि विकासका लागि नेपालको बजार राम्रो छ


काठमाडाैँ । प्रविधिहरूको क्षेत्रमा काम गर्ने कम्पनीहरूको मेला ‘नेपाल प्याक प्रिन्ट इन्टरनेशन एक्स्पो’ बाट अवलोकनकर्ता र व्यवसायीहरू उत्साहित भएका छन् ।

शुक्रवारबाट सुरू भएको एक्स्पोमा अवलोकनकर्ताहरुको उल्लेख्य उपस्थितिसँगै व्यवसायीहरू उत्साहित भएका हुन् । मेलामा सहभागी अवलोकनकर्ताहरू पनि मेलामा एकै छानामुनि पाइने र जानकारी लिन अन्त धाइरहनु नपर्ने भएकाले सहज भएको बताउँछन् । नयाँ नयाँ प्रविधिको जानकारी एकै ठाउँमा पाइएकोले पनि यस्ता मेलाहरू भइरहनुपर्ने उनीहरूको भनाइ छ ।

यस्ता मेलाले नेपालको अर्थतन्त्र चलायमान बनाउनुका साथै बजार पनि बिस्तार गर्न मद्दत पुग्ने व्यवसायीहरूको भनाइ छ । औषधि व्यवसायी शुभमन श्रेष्ठले यस्ता मेलामरूले स्वदेशमै रोजगारी सिर्जना गर्न मद्दा पुग्ने र विदेश जानुपर्ने बाध्यता हटाउने बताए । उनले मेला नयाँ नयाँ प्रविधिहरूसँग जोड्ने र नेपालमै बसेर आर्थिक पक्ष सबल बनाउन महत्वपूर्ण हुने बताए । 

त्यस्तै सान हर्बल प्रोडक्ट कम्पनीका सञ्चालक पुष्कर पोखरेलले सबैकुरा एकै ठाउँबाट जानकारी लिन सकिने भएकाले मेला महत्वपूर्ण भएको बताए । उनले यस्ता मेलाहरू फाइदाजनक रहेको बताए । नेपाल मुद्रण उद्योग महासंघका प्रथम उपाध्यक्ष अरुण सापकोटाले यस्ता मेलाहरु नयाँ प्रविधिहरूको बारेमा जानकारी पाइने महत्वपूर्ण हुने बताए। यस्ता एक्स्पोलाई सरकारले पनि सहयोग गर्नुपर्ने बताए । यस्ता मेलाहरूले स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण बन्ने बताए ।

फ्युचरेक्स ट्रेड फेयर्स एण्ड इभेन्ट्स प्रा. लि. तथा एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रा. लि.का निर्देशक नवित गुप्ताले सबै कुराको जानकारी एकै ठाउँमा पाइने भएकाले मेला महत्पवपूर्ण रहेको बताए । उनले नेपालमा यस्ता मेलाहरू सञ्चालन हुँदा भारतीय कम्पनीहरूलाई बजार बिस्तार गर्न सहज हुने बताए । उनले  भारतीय कम्पनीहरू विश्वव्यापी रूपमा प्रतिष्पर्धा गरिरहेको अवस्थामा यस्ता मेलाहरुले बजारीकरणका लागि महत्वपूर्ण भुमिका खेलेको बताए ।

त्यस्तै भारतीय कम्पनी जेजे क्यान्सका सञ्चालक रोहित अग्रवालले नेपाल सानो देश भएपनि बजारको भविष्य राम्रो रहेको बताए ।व्यवसायीहरूले आगामी दिनमा प्रविधिको क्षेत्रमा नेपालले राम्रो गर्नसक्ने बताए ।