उपत्यकामा उत्पादित रायोको सागमा अत्यधिक विषादी, उपभोग अयोग्य प्रमाणित


काठमाडौँ । काठमाडौँ उपत्यकामा उत्पादित रायोको सागमा अत्यधिक मात्रामा विषादी भेटिएको कारण खान अयोग्य ठहरिएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार, काठमाडौँ र भक्तपुरमा उत्पादित रायोको सागमा कार्वामेट र अर्गानोफस्फेट नामक कीटनाशक विषादीको मात्रा खतरनाक रूपमा उच्च रहेको पाइएको छ।

काठमाडौँमा उत्पादित सागको झण्डै ९२.२४५ प्रतिशत र भक्तपुरमा उत्पादित सागको करिब ७५.५५१ प्रतिशत विषादीयुक्त रहेको छ। कालीमाटीस्थित ६५३ नम्बर पसलमा बिक्रीका लागि राखिएको काठमाडौँमै उत्पादित रायोको सागमा ९२.२४५ प्रतिशत अर्गानोफस्फेट भेटिएको समितिले जानकारी दिएको छ।

यस्तै, भक्तपुरमा उत्पादित रायोको साग, जो कालिमाटीको ६२४ नम्बर पसलमा बिक्रीका लागि राखिएको थियो, त्यसमा ५५.६१९६ प्रतिशत कार्वामेट र ७५.५५१ प्रतिशत अर्गानोफस्फेट पाइएको छ।

यसअघि, सोमबार पनि भक्तपुरबाट ल्याइएको रायोको साग, जो पसल नम्बर ५५४ मा राखिएको थियो, त्यसमा ९९।३८०९ प्रतिशत अर्गानोफस्फेट फेला परेको थियो।

बजारमा कार्वामेट र अर्गानोफस्फेट समूह कीटनाशक विषादीको मात्र परीक्षण गरिँदै आएको छ । यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम उपभोग योग्य ३५ देखि ४५ प्रतिशतसम्म केहिदिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी खान अयोग्य मानिन्छ ।

काठमाडौँ उपत्यकामा विषादीयुक्त सागको समस्या गम्भीर बनिरहेको हुँदा उपभोक्ताहरूलाई सचेत रहन तथा सम्भाव्य विकल्प खोज्न सुझाव दिइएको छ।