काठमाडाैँ । काठमाडौं महानगरपालिकाले आवासीय क्षेत्रमा जोखिम बढेको र स्थानीयको गुनासोका आधारमा कवाड संकलन र भण्डारणमा रोक लगाएको जनाएको छ ।
शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै महानगर प्रहरीले जनगुनासोको आधारमा आवासीय क्षेत्र बाहेकका स्थानमा मात्रै कवाडी राख्ने र आवासीय क्षेत्रमा पूर्ण रुपमा हटाउने नगरसभाको निर्णय कार्यान्वयन गरिएको स्पष्ट पारेको हो ।
पत्रकार सम्मेलनमा काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले मापदण्ड विपरितका टहरा निर्माण गरी कवाडी व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरुले सम्झाउँदा समेत नमानेको कारणले जबरजस्ति गर्नुपरेको बताए ।
उनले कवाड व्यवसायमा रोक लगाउन नगर पहरीले सम्झाउँदा समेत अटेर गर्ने र प्रहरीमाथि आक्रमण गरेका घटनाहरुलाई बंग्याउने काम भएको भन्दै आपत्ति जनाए ।
उनले स्थानीयको गुनासो र आवासीय क्षेत्रमा बढेको जोखिम कम गर्न मात्रै कवाड संकलनमा रोक लगाएकोमा सत्य कुरालाई बंग्याएर विभिन्न टिकाटिप्पणी भइरहेको भन्दै दुःख व्यक्त गरे । कवाड व्यवसायमा सञ्चालनमा रोक लगाउन सम्झाउन गएको प्रहरीमाथि आक्रमण हुँदा नगर प्रहरी घाइते भएको उनले बताए ।
उनले अझैपनि धेरै ठाउँमा महानगरको आदेशलाई अटेर गरेर कवाड व्यवसाय सञ्चालन हुँदै आएको उल्लेख गरे । महानगर प्रहरी स्थानीय तहको प्रहरी भएको कारण स्थानीय तहको आदेश र निर्णय मात्र कार्यान्वयन गरेको उनको भनाइ छ ।
उनले चैत÷वैशाखमा आउने हुरिले टहराहरु उडाएर थप जोखिम निम्त्याउने भन्दै समयमै टहराहरु हटाउन स्थानीयलाई आग्रह गरे । कवाड हटाउन अझै अटेर गरेको अवस्थामा महानगर प्रहरी फेरि डोजर चलाउन बाध्य हुने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्