एकै वर्षमा सुडानले उत्पादन गर्‍यो ६४ टन सुन


काठमाडौं । सुडानले गत वर्षमा ६४ टन सुन उत्पादन गरेको छ । सुडानको सरकारी तथ्याङ्कअनुसार जारी सशस्त्र द्वन्द्वको बीचमा सुडानले २०२४ मा सुन उत्पादनमा उच्चस्तर वृद्धि हासिल गरेको छ ।

सुडानको खनिज स्रोत कम्पनीले जारी गरेको प्रतिवेदन अनुसार सुडानले २०२४ मा कुल ६४.४ टन सुन उत्पादन गरेको हो ।

जसबाट सरकारी राजश्वमा लगभग १.६ अर्ब अमेरिकी डलर प्राप्त भएको छ । सुडानका खनिज मन्त्री मोहम्मद बशीर अब्दुल्लाह अबु नम्मुले २०२४ मा देशको सुन उत्पादनमा भएको वृद्धिको श्रेय धेरै कारकहरूलाई दिएका छन् ।

जसमा अधिकांश उत्पादन क्षेत्रहरू चलिरहेको द्वन्द्वबाट अप्रभावित रहेको तथ्य पनि समावेश छ ।

सुडानमा सुन उत्पादन गर्ने ९० प्रतिशत क्षेत्रहरू सुरक्षित क्षेत्रहरू हुन् जुन युद्धबाट प्रभावित भएका छैनन् । जसमा उत्तरी, नाइल नदी, लाल सागर, कसला, गेडारेफ र ब्लू नाइल राज्यहरू समावेश छन् ।

यी क्षेत्रहरू द्वन्द्वबाट अप्रभावित रहेपछि उत्पादन धेरै हदसम्म स्थिर रहेको छ । जुन सुन उत्पादनमा उल्लेखनीय वृद्धिको एक कारण हो । विदेशी मुद्रा प्राप्त गर्न सुडान मुख्यतया सुन निर्यातमा निर्भर छ ।