मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित


काठमाडाैँ । प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बुधवारको बैठकमा मन्त्री अनुपस्थित भएपछि बैठक स्थगित भएको हो ।

सभामुख देवराज घिमिरेले बैठकको प्रारम्भ भएको जानकारी गराएलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले मन्त्री उपस्थित नभएको ध्यानाकर्षण गराए ।उनले प्रतिनिधि सभा बैठकमा मन्त्रीको उपस्थिति नभएको भन्दै बैठक अगाडि नबढाउन आग्रह गरे ।

“सरकार सदनलाई हेपिरहेको छ । सरकार हामी जनप्रतिनिधिलाई एउटा कुरामा होइन हरेक कुरामा हेपिरहेको छ । हाम्रा अभ्यासहरु सरकार मानिरहेको छैन । अहिलेसम्म सदन सुरु हुँदा समेत मन्त्री कोही पनि छैनन् । हामी समितिहरुमा, उपसमितिहरुमा प्रतिपक्षी दल उपस्थित हुन्छ । तर सरकार उपस्थित हुँदैन । नियमावलीअनुसार या बैठक चल्दैन । बन्द गरियोस्,” उनले भने ।

उनले सरकारले हरेक कुरामा प्रतिपक्षी दलहरुलाई हेपिरहेको आरोप लगाए । लगत्तै सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम ५ बमोजिम बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने भएकाले बैठक १५ मिनेटपछि बस्नेगरी सथगित भएको घोषणा गरे ।