नेप्से १० अंकले बढ्यो, शिवम् सिमेन्टको सर्वाधिक कारोबार


काठमाडौं । साताको पहिलो कारोबार दिन आज (आइतबार) सेयर बजार दोहोरो अंकले बढेको छ ।

सेयर बजारको लागि सकरात्मक समाचारहरु आउँदा पनि बजारले खासै राम्रो प्रतिक्रिया नदेखाएको सेयर विश्लेषकहरु बताउँछन् ।

प्रतिनिधी सभाको चुनावको मिति घोषणा हुँदा, व्याजदर परिर्वतन नहुँदा पनि बजार बढ्न नसक्नु भनेको खबरहरु भन्दा पनि बैंकिङ प्रणालीमा तरलता आवश्यक रहेको उनिहरुको तर्क छ । जबसम्म तरलता सहज हुँदैन तबसम्म बजारमा सकरात्मक हुन सक्दैन ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक १०.२७ अंकले बढेर २१२३.८२ अंकमा पुगेको छ । यता सेन्सेटिभ परिसूचक पनि ३.११ अंकले बढेर ४०९.५६ अंकमा पुगेको छ ।

नेप्सेमा आज कारोबार भएका कूल १३ उपसमूहमध्ये आज लाइफ इन्स्योरेन्स बाहेक बाँकी सबै उपसमूहको सेयर बढेको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूह बढेको छ ।

आइतबार कारोबार रकमका आधारमा शिवम् सिमेन्ट कम्पनी लिमिटेडको नै सर्वाधिक कारोबार भएको छ । कम्पनीको १३ करोड ८९ लाख ८२ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आजको दिन मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।

यस दिन नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । संस्थाको सेयरमूल्य ३.४८ प्रतिशतले घटेको हो ।

कूल २१९ वटा कम्पनीको ६१ लाख ६ हजार ५ सय २१ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ६७ करोड ३३ लाख ३८ हजार २ सय ३२ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।