महिला उद्यमी महासंघले छैठौं अन्तर्राष्ट्रिय महिला व्यापार मेला गर्ने


काठमाडौं । महिलाले उत्पादन गरेका वस्तुको बजार प्रवर्द्धन गर्न छैठौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला हुने भएको छ ।

महिला उद्यमी महासंघ नेपालले भाद्र २ गतेदेखि ६ गतेसम्म पाँच दिने मेला आयोजना गर्न लागेको काठमाडौंमा पत्रकार भेटघाट गरि जानकारी गराएको हो । “स्वदेशी खाउ, स्वदेशी लाउ र उद्यमशीलता बढाउ’’ भन्रे नाराका साथ उक्त मेला आयोजना गरिएको महासंघकी अध्यक्ष नीरु रायमाझी खत्रीले बताइन् ।

मेलामा स्वदेशीसहित विदेशी महिला उद्यमीका १०९ भन्दा बढी स्टल राखिने अध्यक्ष खत्रीले बताएकी छन् । मेलामा सातै प्रदेशका विभिन्न जिल्लासहित भारत, अफगानिस्तान, बंगलादेश लगायत देशका महिला उद्यमीका उत्पादन राखिने खत्रीको भनाइ छ ।

मेलामा हस्ताकलाका सामानहरु प्राकृतिक रेशाजन्य वस्तु, ढाका तथा घरबुनाका सामानहरु, हाते कागजका वस्तुहरु, जैविक खाद्य पर्दाथ स्वदेश तथा विदेशका खानेकुराका परिकारहरु, गरगहना साथै विभिन्र सेवा प्रदायक संस्थाहरुका स्टलहरु प्रर्दशनीमा राखिने छन् ।

महासंघकी उपाध्यक्ष शोभा ज्ञवालीका अनुसार उक्त व्यापार मेलामा नेपाल अधिराज्यभरिका साना तथा मैझौला महिला उद्यमी, व्यापारी देखि महिला निर्यातकर्ताहरुको सहभागिता रहनेछ । “विभिन्र जिल्लाका ग्रामिण क्षेत्रमा रहेका सफल महिला उद्यमीलाई प्रोत्साहन र हौसला बढाउन विगतका वर्षदेखि उक्त मेला आयोजना गरिएको हो । ’’ज्ञवालीले भनिन् ।

महिला उद्यमी महासंघ नेपालको स्थापना विः स २०६० साल असार २६ गते भएको थियो । महिला उद्यमी महांसघले विगत ५ वर्षदेखि अन्तराष्ट्रिय महिला व्यापार मेला आयोजना गर्दै आएको छ ।