बाजुराको किम्नी खोला पुल निर्माणमा भ्रष्टाचार: तत्कालीन प्रशासकीय अधिकृतसहित आठ जनामाथि विशेष अदालतमा मुद्दा


काठमाडौँ । बाजुराकाे त्रिवेणी नगरपालिका वडा नम्बर ५ मा निर्माण गरिएको किम्नी खोला ट्रस पुलमा आर्थिक अनियमितता र भ्रष्टाचारसम्बन्धी उजुरीको अनुसन्धानपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आठ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा अभियोगपत्र दायर गरेको छ।

आयोगको अनुसन्धानले आर्थिक वर्ष २०७४\०७५ र २०७५\०७६ मा निर्माण सम्पन्न भएको उक्त पुल आयोजनामा गम्भीर अनियमितता भएको पुष्टि गरेको हो। आयोगका अनुसार वास्तविक रूपमा फिल्डमा नभएको कामलाई नापी किताबमा बढी देखाई नक्कली बिल तयार पारेर भुक्तानी गरिएको, ढुवानी खर्चका नाममा अस्वाभाविक रूपमा फलामे ट्रसको परिमाण बढाइएको र गुणस्तरहीन सामग्री प्रयोग गरिएर पनि त्यसलाई स्वीकृति दिइएको पाइयो।

विशेषगरी माटो खन्ने काम, ढुङ्गा बिच्याउने काम, सिसी ढलाइको काम, फलामे काम, फलामका पार्टपुर्जा तथा सिमेन्टको लम्पसम ढुवानीको लागतजस्ता शीर्षकमा भएको कामभन्दा बढी लागत देखाएर रकम भुक्तानी गरिएको देखिएको छ। त्यसैगरी, ग्याविन जालीको लागत अनुमानमा मेसिनबाट बनेको हुनुपर्नेमा हातले बनाइएको जाली प्रयोग गरिएको र त्यसको जालीको आँकडासमेत नमिलेको भेटिएको छ। आयोगका अनुसार यी सबै कार्य जानाजानी नियोजित रूपमा गरिएका थिए।

अनुसन्धानका क्रममा त्रिवेणी नगरपालिकालाई करिब चार लाख एकतीस हजार चार सय छयासी रुपैयाँ चौसठी पैसाको हानी नोक्सानी पुगेको पुष्टि भएको हो। उक्त कार्यमा संलग्न देखिएका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत तीर्थराज थापामगर, इन्जिनियर खगेन्द्र साउद, उपभोक्ता समितिका अध्यक्षसहित आठ जना व्यक्तिहरूमाथि भ्रष्टाचार निवारण ऐन अनुसार कारबाहीको माग गर्दै अभियोगपत्र दर्ता गरिएको हो।

आयोगले विशेष अदालत समक्ष पेश गरेको अभियोगपत्रमा दोषी ठहर भएका प्रतिवादीहरूलाई कानून बमोजिम सजाय दिन र त्रिवेणी नगरपालिकालाई पुर्‍याइएको सम्पूर्ण हानी बराबरको रकम असुलउपर गर्न माग गरिएको छ।