काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल जस्ता विकासोन्मुख देशले आत्मनिर्भर अर्थतन्त्र निर्माणको कार्यमा अर्जुनदृष्टि लगाउनुपर्ने समय आएको बताएका छन् ।
नयाँ वर्ष २०८२ को उपलक्ष्यमा आइतबार भिडियो सन्देश जारी गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुक गम्भीर आर्थिक मन्दी, बेरोजगारी, पुँजी पलायन, भ्रष्टाचार र औद्योगिक थलिएको अवस्थामा रहेको उल्लेख गर्दै उनले आत्मनिर्भर अर्थतन्त्रको निर्माणलाई अबको प्रमुख राष्ट्रिय एजेण्डा बनाउन आग्रह गरेका हुन्।
उनले बदलिँदो विश्व सन्दर्भमा नेपालजस्ता विकासोन्मुख राष्ट्रले आयातमा भर नपर्ने र स्वदेशी उत्पादन र खपतमा आधारित आर्थिक मोडेल अपनाउनुपर्ने बताए । उनले भने, “स्वदेशी स्रोतसाधनको उपयोग गर्दै स्वदेशमै उत्पादन गरी स्वदेशमै खपत गर्ने चक्रबाट आत्मनिर्भर अर्थतन्त्र बनाउने समय आएको छ।”
उनले युवाशक्तिको पलायनले देशलाई दीर्घकालीन क्षति पुर्याउने चेतावनी दिँदै स्वरोजगारको अवसर सिर्जना गरी युवालाई स्वदेशमै राख्नुपर्ने आवश्यकता औँल्याए। ‘स्वदेश फर्क, स्वदेश नै स्वर्ग’ भन्ने अभियान आवश्यक भएको उल्लेख गर्दै उनले विदेशमा रहेका नेपालीको पुँजी, सीप र अनुभवलाई स्वदेशमै लगानी गर्न आह्वान गरे।
सन्देशमा पूर्वराजाले शिक्षा, स्वास्थ्य र प्रशासनिक प्रणालीमा आमूल सुधार गरी आधुनिक बनाउने खाँचो पनि औँल्याए। पूर्वराजाको सन्देशमा राजनीति र आर्थिकतन्त्र सँगसँगै चल्नुपर्ने र नेपालको भविष्य संवाद, सहमति र सहकार्यबाट निर्माण गर्नुपर्ने सन्देश पनि रहेको छ।
प्रतिक्रिया दिनुहोस्