काठमाडाैँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगार ऐन संशोधनका लागि गठित कार्यदलले काम सुरू गरेको बताएका छन् ।
बिहीवार वैदेशिक रोजगार व्यवसायी संघका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई ज्ञापन गर्न आयोजित कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले संसदको आउँदो अधिवेशनबाट पास गर्नेगरी ऐन संशोधनको काम थालनी भएको बताएका हुन् ।
उनले वैदेशिक रोजगारको क्षेत्रमा धेरै समस्याहरु रहेको कारण समयसापेक्ष सुधार गर्नको लागि ऐन संशोधन गर्न थालिएको बताए । आजबाट नै वैदेशिक रोजगार ऐन संशोधनको लागि कार्यदलको छलफल सुरू गरेको बताए ।
“आजैदेखि हामीले वैदेशिक रोजगार ऐन संशोधनको लागि कार्यदलको छलफल सुरू गरेका छौं । वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्ष पनि त्यस कार्यदलको सदस्य भएको हुनाले यो काममा यस समितिको सुझाव पनि आउने नै छ । वैदेशिक रोजगारमा धेरै समस्याहरु देखिएको हुनाले ऐनको समयसापेक्ष सुधार आवश्यक छ । संसदको आउँदो अधिवेशनमा संशोधनको लागि ऐन पेश गर्नेगरी तयारी गरिरहेका छौं,” उनले भने ।
वैदेशिक रोजगार व्यवसायीहरुले पनि इमान्दार भएर व्यवसाय अगाडि बढाउन मन्त्री भण्डारीको आग्रह छ । वैदेशिक रोजगार व्यवसायी संघ सरकारको अंग भएको उल्लेख गर्दै उहाँले सरकारले व्यवसाय गर्ने नभई सहजिकरण गर्नुपर्ने बताए । उनले वैदेशिक रोजगारमा जाने नागरिकले व्यवसायीका कारण समेत दुःख पाइरहेको उल्लेख गर्दै यसतर्फ सबै सचेत हुन जरुरी रहेको बताए ।
नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई बिना धितो ऋण उपलब्ध गराउने कुरामा समेत आवश्यक कामहरू भइरहेको मन्त्री भण्डारीको दाबी छ । उनले संघका नवनिर्वाचित पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्