प्रधानमन्त्री ओलीसँग भारतीय विद्युतमन्त्रीको भेट, ऊर्जा सहकार्यमा जोड


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका विद्युत, आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल भट्टरले आज शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा दुई छिमेकी मुलुकबीचको मित्रवत र सांस्कृतिक सम्बन्ध, ऊर्जा क्षेत्रको विकास र सहकार्यका विविध पक्षमा कुराकानी भएको छ ।

पछिल्ला दिनमा दुई देशबिचको ऊर्जा क्षेत्रमा राम्रो सहकार्य विकास हुँदै गएको विषयमा उनीहरूबिच छलफल भएको थियो । भारतीय मन्त्री भट्टरले अरुण–३ जलविद्युत आयोजना क्षेत्रमा स्थलगत भ्रमण गरी प्रगतिबारे जानकारी लिएको अवगत गराए । उक्त आयोजनालाई थप गति दिने भारतीय मन्त्री भट्टरले बताए ।

भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपालका लागि भारतीय राजदूत नवीनकुमार श्रीवास्तव, परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थियाे ।