काठमाडाैँ । संघीय संसद्का दुवै सदनको अधिवेशन आज अपराह्न १ः०० बजेबाट सुरू हुँदैछ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेल द्वारा अधिवेशन आह्वान गरिएको हो ।
यस अधिवेशनलाई आगामी आर्थिक वर्षका लागि बजेटसहितका प्रमुख विधेयकमाथि छलफल र निर्णय हुने बजेट अधिवेशनका रूपमा लिइएको छ।
संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार, प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र र मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी सूचना सभामुख देवराज घिमिरेले जानकारी गराउने कार्यक्रम छ। साथै, प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गरिनेछ।
अधिवेशनको पहिलो दिन भएकाले विभिन्न राजनीतिक दलका नेताहरूलाई मन्तव्य राख्ने अवसर दिइनेछ। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार, प्रधानमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीले सदनलाई सम्बोधन गर्नेछन् ।
बजेट तयारी र विधेयक प्रस्तुति
आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ सदनमा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
संवैधानिक व्यवस्था अनुसार, जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट संसद्मा प्रस्तुत गरिनेछ। सोभन्दा अघि वैशाख १९ गते राष्ट्रपतिबाट संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिनेछ।
साथै, कानुनी प्रावधानअनुसार बजेट प्रस्तुत हुनु १५ दिनअघि नै प्रि बजेट छलफल गर्नुपर्ने व्यवस्था रहेकोले वैशाख २८ देखि सो छलफल सुरु हुनेछ ।
संघीय निजामती सेवा ऐन र विद्यालय शिक्षा विधेयक प्राथमिकतामा
यस अधिवेशनमा संघीय निजामती सेवा ऐन र विद्यालय शिक्षासम्बन्धी विधेयक पारित गर्न विशेष प्राथमिकता दिइनेछ। यी विधेयकहरू लामो समयदेखि संसद्मा रोकिएका महत्त्वपूर्ण विधेयक हुन्, जसले संघीयता कार्यान्वयनमा सहुलियत पुर्याउने अपेक्षा गरिएको छ।
सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार, अधिवेशन सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ। संसद्को पछिल्लो हिउँदे अधिवेशन गत चैत १८ गते अन्त्य भएको थियो ।
संघीय संसद्को यो अधिवेशन राजनीतिक र आर्थिक दृष्टिले विशेष महत्वको मानिएको छ, जहाँ नीति निर्माणदेखि बजेट पारितिसम्मका देशकै आगामी आर्थिक दिशा निर्धारण गर्ने प्रक्रिया अघि बढ्नेछ।
प्रतिक्रिया दिनुहोस्