काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले लुम्बिनीलाई विश्वकै आध्यात्मिक अध्ययन र चिन्तन केन्द्रको रूपमा पहिचान गराउन सरकार प्रतिवद्ध रहेको बताएका छन्।
शनिबार लुम्बिनीमा आयोजित चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले लुम्बिनीलाई विश्वव्यापी आध्यात्मिक अध्ययन, चिन्तन र मननको केन्द्रको रूपमा स्थापित गर्न सरकार लागिपरेको बताएका हुन्।
उनका अनुसार विश्वप्रसिद्ध योजनाविद् केन्जो टाङ्गेको गुरुयोजनालाई आधार मानेर रामग्राम, देवदह, तिलौराकोट, गोटिहवा र निग्लिहवा जस्ता धार्मिक तथा ऐतिहासिक स्थलहरू समेट्दै लुम्बिनी क्षेत्रको एकीकृत विकास गर्ने लक्ष्य लिइएको छ।
मन्त्री पाण्डेले बौद्ध धर्मावलम्बीहरूको मर्मलाई आत्मसात गर्दै स्थानीय समुदायको अपनत्व तथा प्रकृति र विकासबीच सन्तुलन कायम राख्नुपर्ने आवश्यकता औंल्याए।
उनले संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव उ थानको सोचलाई आत्मसात गर्दै लुम्बिनीको विकास र प्रवर्द्धनका लागि गठन गरिएको संयुक्त राष्ट्रसंघका १६ राष्ट्रहरूको सहभागिता रहेको अन्तर्राष्ट्रिय समितिलाई पुनः सक्रिय बनाउन यसै वर्ष बैठक आह्वान गरिने विश्वास पनि व्यक्त गरे।
मन्त्री पाण्डेले एसियन बुद्धिष्ट कलेजको आयोजनामा भएको बौद्ध सांस्कृतिक महोत्सवले लुम्बिनीको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने बताए। साथै, लुम्बिनी विकास कोष ऐन संशोधन गरिने जानकारी पनि दिए।
तीन दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए। कार्यक्रममा थाइल्यान्ड, कम्बोडिया, चीन लगायत ५० मुलुकका भिक्षुहरू र बौद्ध धर्मावलम्बीहरूको सहभागिता रहेको छ ।
प्रतिक्रिया दिनुहोस्