गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति कर्मचारी संगठन असन्तुष्ट


काठमाडौँ । नेपाल राष्ट्र बैंक राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष कृष्ण केसीले गभर्नर नियुक्ति ढिलाइप्रति असन्तोष व्यक्त गरेका छन्।

आज राष्ट्र बैंकको ७० औं वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष केसीले चैत २४ गते गभर्नरको कार्यकाल सकिएको भए पनि नयाँ गभर्नर नियुक्त नभएकाले कार्यबाहक (कामु) गभर्नरले काम चलाउनुपर्ने बाध्यता आएको बताए।

उनले गभर्नर नियुक्तिको विषयमा बजारमा करोडौं रुपैयाँ चलिरहेको हल्ला आएको टिप्पणी गर्दै यदि साँच्चिकै यस्तो अवस्था आएको हो भने राष्ट्र बैंकका कर्मचारीहरू पनि संस्थाको हितका लागि सहयोग गर्न तयार रहेको बताए।

केसीले सरकारसँग छिटोभन्दा छिटो स्थायी गभर्नर नियुक्त गर्न माग गर्दै, हाल कामु गभर्नरका रूपमा रहेकी नीलम ढुंगानालाई पूर्ण गभर्नरसरह सहयोग गर्ने प्रतिबद्धता जनाए।