सरकारको नीति तथा कार्यक्रम अमूर्त,गन्तव्यविहीन र निराश छः वर्षमान पुन


काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले सरकारले ल्याएको नीति तथा कार्यक्रम अमूर्त, गन्तव्यविहीन र निराश भएको टिप्पणी गरेका छन् ।

शुक्रवार सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि संसद परिसरमा सञ्चारकर्मीहरूसँग बोल्दै उनले यस्तो बताएका हुन्।

उनले सरकारको नीति तथा कार्यक्रमबाट आगामी बजेट पनि गन्तव्यविहीन आउँछ कि भन्ने आशङ्का देखिएको बताए ।उपमहासचिव पुनले गठबन्धन सरकारले संविधान संशोधन गर्नेकुरा गरे पनि हालसम्म त्यो हुन नसकेको बताए ।

उनले नीति तथा कार्यक्रममा विकास, निर्माण र पूर्वाधारलाई स्पष्ट प्रश्तुत नगरिएको बताउँदै आर्थिक सुधारमा सरकारले गर्न खोजेको के भन्दै प्रश्न समेत गरे । उनले विगतको सरकारले नयाँ दर्जनौँ कार्यक्रम घोषणा गरेर कार्यान्वयनको लागि सङ्कल्प गरेको स्मरण गर्दै तिनीहरू अहिले रोकिएको समेत जिकिर गरे । उनले सरकारले नीति तथा कार्यक्रमबाट गन्तव्य देखाउन नसकेको बताउँदै यसले जनतामा निराशा थप्ने बताए ।