काठमाडौँ । कान्तिपुर दैनिकका पत्रकार मातृका दाहाललाई ‘टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ।
अमेरिकाको टेक्ससमा कार्यालय रहेको हेम–सरिता पाठक फाउन्डेसनले स्थापना गरेको एक लाख रुपैयाँ राशिको उक्त पुरस्कार शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा दाहाललाई प्रदान गरिएको हो।
दाहाललाई पत्रकारितामार्फत सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणमा पुर्याएको महत्वपूर्ण योगदानका लागि पुरस्कृत गरिएको फाउन्डेसनले जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंह, फाउन्डेसनका प्रमुख संरक्षक हेम पाठक र अध्यक्ष जेनी पाठकले दाहाललाई नगद राशिसहित सम्मानपत्र प्रदान गरेका थिए।
झन्डै दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय दाहालले नक्कली भुटानी शरणार्थी प्रकरण, बालुवाटारस्थित ललिता निवास जग्गा काण्ड, पतञ्जली जग्गा विवाद, सुन तस्करी, प्रहरी हतियार खरिदमा अनियमितता, सहकारी घोटालालगायत गम्भीर प्रकृतिका अनियमितता र भ्रष्टाचार उजागर गर्दै आएका छन्। त्यस्तै फाउन्डेसनले उकालो डटकमकी दिपा दाहाललाई पनि पुरस्कार प्रदान गरेको हो ।
प्रतिक्रिया दिनुहोस्