विचौलिया र भ्रष्टाचारीहरू अहिले मस्त निदाइरहेका छन्ः सांसद शाही


काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का सांसद महेन्द्रबहादुर शाहीले सरकार जनताको लागि बनेको नभइ विचौलिया, भ्रष्टाचारी र तस्कारहरूका लागि बनेको व्यवहारतः पुष्टि भएको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद शाहीले प्रचण्ड नेतृत्वको सरकारको पालामा सुत्न नपाएका बिचौलिया र भ्रष्टाचारीहरू अहिले खुशीको साथ निदाइरहेको उनको टिप्पणी छ । सांसद शाहीले सरकार जनताको हित हुने नभई विचौलियाको हित हुने नीति निर्माण लागेको समेत आरोप लगाए ।

“हामीले भनेका थियौँ,यो सरकार जनताको लागि बनेको सरकार होइन । यो सरकार गलत नियतका साथ बनेको सरकार चाहीँ हो । सरकार विचौलिया, भ्रष्टाचारी र तस्कारहरूका लागि बनेको सरकार चाहीँ हो । सरकारले उनीहरुकै हित गर्छ । आज यो कुरा व्यवहारतः पुष्टि भएको छ सभामुख महोदय । हिजो कमरेड प्रचण्ड नेतृत्वको सरकारको पालमा निदाउन नपाएका दलाल र भ्रष्टाचारीहरु आज खुसिका साथ निदाइरहेका छन्,”उनले भने ।

सरकार सञ्चालकहरू नै देशलाई संकटको भुमरीतिर लैजाने कुचेष्टा गरिरहेको समेत सांसद शाहीको आरोप छ ।