प्रधान सम्पादक बुढाथोकीलाई विनय कसजु उत्कृष्ट सूचनाको हक अभियन्ता पुरस्कार


काठमाडौँ । टक्सार मिडिया ग्रुपका प्रधान सम्पादक गजेन्द्र बुढाथोकीलाई ‘विनय कसजु उत्कृष्ट सूचनाको हक अभियन्ता पुरस्कार’ प्रदान गरिएको छ। राष्ट्रिय सूचना आयोगको १८ औं वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले बुढाथोकीलाई उक्त सम्मान प्रदान गरेका हुन्।

सूचनाको हकको प्रवर्धन र कार्यान्वयनमा विशिष्ट योगदान पुर्‍याउने अभियन्ताहरूलाई राष्ट्रिय सूचना आयोगले प्रत्येक वर्ष सो सम्मान प्रदान गर्दै आएको छ।

उक्त कार्यक्रममा फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहाललाई ‘विनय कसजु सर्वोत्त्कृष्ट सूचनाको हक अभियन्ता पुरस्कार’ प्रदान गरिएको छ। यस्तै, नेपाल समाचारपत्र दैनिकका कार्यकारी सम्पादक दीपक रिजाल, कविता थापा र हरिराम कोण्डालाई पनि उत्कृष्ट सूचनाको हक अभियन्ता पुरस्कार दिइएको हो।

त्यसैगरी, सूचनाको हक कार्यान्वयनमा सक्रिय भूमिका खेलेको भन्दै पाँच जना सूचना अधिकारीहरूलाई ‘उत्कृष्ट सूचना अधिकारी’ पुरस्कार प्रदान गरिएको छ।

पुरस्कार प्राप्त सूचना अधिकारीहरूमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालका देवीप्रसाद थपलिया, मध्यपुर थिमि नगरपालिकाका केशव सिलवाल, जिल्ला हुलाक कार्यालय चितवनका पदमकुमार श्रेष्ठ, मन्थलि नगरपालिका रामेछापका हेमन्तकुमार बुढाथोकी र छत्रदेव गाउँपालिका अर्घाखाँचीका बुद्धिराम न्यौपाने छन् ।