नीति तथा कार्यक्रममाथि संसद्मा छलफल जारी : दुवै सदनको बैठक आज बस्दै


काठमाडौँ । सङ्घीय संसद्को दुवै सदनमा सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने भएको छ।

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्नेछ भने राष्ट्रियसभाको बैठक अपराह्न १२:१५ बजेका लागि निर्धारण गरिएको संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा सांसदहरूले सरकारको नीति तथा कार्यक्रमप्रति समर्थन वा आलोचना गर्दै आ–आफ्ना धारणा राख्ने कार्यसूची रहेको छ।

सरकारको वार्षिक नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रवार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेका थिए ।

सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । त्यसलगत्तै प्रतिनिधिसभामा औपचारिक रूपमा छलफल सुरु भएको हो ।

यसैबीच, राष्ट्रियसभामा भने आइतबारदेखि नै नीति तथा कार्यक्रममाथि छलफल सुरु भइसकेको छ । सत्ता र विपक्षी दलका सांसदहरूले नीति तथा कार्यक्रमको विभिन्न पक्षमाथि प्रश्न, सुझाव र टिप्पणी प्रस्तुत गर्दै आएका छन् ।

नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त सुझाव एवं आलोचनालाई समेट्दै सरकारले आगामी दिनमा बजेट प्रस्तुत गर्ने तयारी गरेको छ। संसद्मा जारी छलफलमा देशको आर्थिक अवस्था, संघीयता कार्यान्वयन, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, रोजगारी र सुशासनका विषयमा केन्द्रित बहस भइरहेको छ ।

सरकारको नीति तथा कार्यक्रम प्रभावकारी हुने वा केवल भाषणमै सीमित रहने भन्ने प्रश्नमा संसद्मा ध्रुवीकरण देखिन थालेको छ। आजको छलफलमा पनि यी विषयहरूमा सांसदहरूका धारणा थप चर्किने अनुमान गरिएको छ ।

संघीय संसद्को यो सत्रलाई सरकारको नीति तथा कार्यक्रमप्रति विश्वास, समर्थन वा असहमति दर्शाउने एउटा महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।