नेपाली चिकित्सकहरू विदेशिने क्रम बढ्नु चिन्ताको विषय हाेः राष्ट्रपति पौडेल


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली चिकित्सकहरू विदेशिने क्रम बढ्नु चिन्ताको विषय भएको बताएका छन्।

मंगलबार काठमाडौँमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को २३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपालमै स्तरिय स्वास्थ्य सेवा तथा उपचार हुने वातावरण बनेको अनुभव भएको बताए। यद्यपि, सम्पूर्ण स्वास्थ्यकर्मी जनशक्तिले पर्याप्त अवसर नपाएको गुनासो आइरहेको भन्दै उनले त्यसको प्रतिफलस्वरूप चिकित्सकहरू विदेशिनु परेको चिन्ता व्यक्त गरे।

“नेपालमै स्तरिय स्वास्थ्य सेवा तथा उपचार हुन थालेको छ भन्ने कुरा मैले आफैंले अनुभव गरेको छु,” पौडेलले भने, “स्वास्थ्य सेवामा सुधार हुँदै गएको छ तर सम्पूर्ण जनशक्तिले पर्याप्त अवसर नपाएको गुनासो आइरहेको छ। यसको परिणाम चिकित्सकहरू विदेशिने क्रम बढ्नु हो, जुन चिन्ताको विषय हो। यसलाई रोक्न सम्बन्धित पक्षले उपयुक्त कदम चाल्नुपर्छ।”

उनले संविधानले नेपाली नागरिकलाई स्वास्थ्य र शिक्षा जस्ता आधारभूत आवश्यकताको प्रत्याभूति सुनिश्चित गरेको उल्लेख गर्दै संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पु¥याउन र स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्न विशेष ध्यान दिनुपर्नेमा जोड दिए।

राष्ट्रपति पौडेलले नेपालमै दक्ष र विज्ञ चिकित्सकहरू उत्पादन हुनु सकारात्मक पक्ष भएको बताए। साथै, देशको स्वास्थ्य र शिक्षामा गुणात्मक सुधार हुँदै गएको उल्लेख गर्दै उनले राष्ट्रले चिकित्सक उत्पादनमा गरेको लगानी संविधानको भावना अनुरूप हुनु पर्नेमा पनि जोड दिए।