काठमाडाैँ । नेकपा (एमाले) राष्ट्रिय सभा प्रमुख सचेतक भगवती न्यौपानेले सरकार ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सकिने विषयहरू समेटेर ल्याइएको बताएकी छन् ।
मंगलवार बसेको राष्ट्रिय सभा बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै उनले नीति तथा कार्यक्रम विगतको भन्दा धेरै वैज्ञानिक र यथार्थ धरातलमा टेकेर ल्याइएको दाबी गरेकी हुन्।
नीति तथा कार्यक्रममा कार्यान्वयन नै गर्न नसकिने खालका लामो लामो कथा लेखेर ल्याउने विगतको परिपाटी रहेको बताउँदै उनले अहिलेको नीति तथा कार्यक्रम सान्दर्भिक रहेको बताइन् । उनले अहिलेको नीति तथा कार्यक्रममा अनेक फुर्काहरू नझुन्ड्याइएको र अनेक प्रकारका शब्द जालहरू नबुनिएको समेत जिकिर गरिन् ।
उनले अहिलेको नीति तथा कार्यक्रम विगतको भन्दा सानो र कार्यान्वयन गर्न सकिने कुराहरू मात्रै लेखिएकोले त्यसमा आफ्नो-आफ्नो समर्थन रहेको प्रस्ट पारिन् ।
उनले सरकारले ल्याएको नीति तथा कार्यक्रमले जनतामा उत्साह ल्याएको समेत धारणा राखिन् ।
प्रतिक्रिया दिनुहोस्