काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का सचिव तथा प्रतिनिधिसभाका सांसद देवेन्द्र पौडेलले राष्ट्र निर्माणका लागि दृढ संकल्पका साथ नीति तथा कार्यक्रम आउनुपर्ने भए पनि अहिले प्रस्तुत नीति तथा कार्यक्रममा त्यो संकल्प नदेखिएको बताएका छन्।
मंगलवारको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद पौडेलले कार्यक्रमहरू पुरानै नीति तथा कार्यक्रमको ‘रिप्याकेजिङ’ मात्र भएको टिप्पणी गरे।
उनका अनुसार सार्वजनिक सेवा प्रवाह, आर्थिक गतिशीलता, सामाजिक न्याय, हप्तामा २० घण्टा विद्यार्थीलाई काममा लगाउने, ‘पढ्दै कमाउँदै’ कार्यक्रम, नागरिक एप्स, इ–गभर्नेन्स बोर्ड, अनलाइन कर प्रणाली, युवा केन्द्रित स्टार्टअप, साइबर सुरक्षा, डिजिटल नेपाल फ्रेमवर्क, तीन तहको सरकारको एकीकृत परियोजना बैंकिङ प्रणाली जस्ता विषयहरू नीति तथा कार्यक्रममा समावेश गरिए पनि ती नयाँ अवधारणा नभई पहिलेकै कार्यक्रम दोहोरिएको हो।
पौडेलले भने, “मैले दुई पटक पढ्दा सबै विषय पहिलेकै कार्यक्रममै भेटेँ। ६ सय ६१ स्टार्टअपले लोन पाएका छन् भनिएको छ। तर, आज प्रस्तुत भएको नीति तथा कार्यक्रमका कारण होइन, त्यो त पहिलाको कार्यक्रमको उपलब्धि हो।”
पौडेलले राष्ट्र निर्माणको लक्ष्यमा पुग्न सक्ने किसिमको नयाँ सोच र दृष्टिकोण भएको नीति तथा कार्यक्रम ल्याइनुपर्नेमा अहिलेको दस्तावेजले सिक्ने खालको नीति समेत दिन नसकेको धारणा राखे।
प्रतिक्रिया दिनुहोस्