स्वास्थ्यमन्त्री पौडेलले भनेः नेपालमा स्वास्थ्य जनशक्तिको अभाव छैन


काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा स्वास्थ्य जनशक्तिको अभाव नरहेको दाबी गरेका छन् ।

मंगलवार काठमाडौँमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा स्वास्थ्य जनशक्तिको अभाव नरहेको भन्दै टिकाउने कुरामा भने कठिनाइ रहेको बताएका हुन् ।

उनले काठमाडौँभित्र स्वास्थ्य संस्थाहरूमा निर्वाह हुने जनशक्ति रहेको भएपनि काठमाडौँ बाहिर भने जनशक्तिको पूर्ण रूपमा अभाव रहेको बताए ।

उनले संघीय अस्पतालमा नौ वटा दरबन्दी भएको ठाउँमा एक जना मात्रै चिकित्सक रहेको बताए । उनले जनशक्ति उत्पादन गर्ने, नेपालभित्रै टिकाउने, काठमाडौँ बाहिर दूर दराजमा स्वास्थ्य सेवा उपलब्ध गराउनका निम्ति खटिने स्थिति बनाउन सक्नुपर्ने बताउनु भयो । त्यसका निम्ति उत्पादन प्रक्रियालाई सहज बनाउन जरुरी रहेको बताए । 

मन्त्री पौडेलले सरकारले सात वटै प्रदेशमा क्यान्सर उपचार सेवा बिस्तार गरेको उल्लेख गरे ।उनले सात वटै प्रदेशमा सरकारले प्रत्यारोपण सेवा बिस्तार गरिरहेको बताए । उनले राज्यले स्वास्थ्यमा प्राथमिकता निर्धारण गरेको भए ४ प्रतिशत लगानीले नपुग्ने उल्लेख गरे ।