विपद् व्यवस्थापनको सचेतनाका लागि पाँच भाषामा सन्देश निर्माण गर्दै विपद् व्यवस्थापन प्राधिकरण


काठमाडाैँ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ईन्जिनियर दिनेशप्रसाद भट्टले विपद् व्यवस्थापनको सचेतना जगाउन मुख्यमुख्य पाँच भाषामा सन्देशहरू निर्माण गर्ने बताएका छन् ।

बुधवार सिंहदरबारमा आयोजित तातो हावाको लहर ‘लू’ को प्रभाव र पूर्वतयारी विषयक छलफल कार्यक्रममा बोल्दै उनले जुन ठाउँमा कर्मचारी कार्यरत हुन्छ् त्यहीँ त्यहीँ ठाउँमा विपद् व्यवस्थापन पूर्वतयारीका सन्देशहरू प्रवाह गर्न निर्देशन दिएका हुन्।

उनले हाल सामान्य वर्षा भइरहे पनि वर्षा रोकिएको केही दिनमै तातो हावा चल्न सक्ने भएकाले सजगता अपनाउनुपर्ने बताए । उनले लूका कारण तराईमा पशुचौपाया मर्ने गरेकोप्रति विशेष ध्यान दिनुपर्ने बताए । पशुचौपाया मर्दा किसानले बिस्तारै पशुपालन छोड्न सक्ने भएकाले किसानको क्षतिपूर्ति र राहतका लागि पशु तथा कृषि बिमाको दायरामा ल्याउनुपर्नेमा जोड दिए ।

उनले विपद्का सबै क्षेत्रलाई बिमाको दायरामा ल्याउन बिमा कम्पनीहरूसँग सरकारले मध्यस्तता गर्नुपर्ने बताए ।कार्यकारी प्रमुख भट्टले तातो हावाका लहर लू तराई क्षेत्र हुँदै दिपायल, दाङको तुलसिपुर लगायतका उपत्यकाहरुमा पनि सुरू भइसकेकाले सजग हुनुपर्नेमा जोड दिए ।