मधेसमा सबैभन्दा बढी नयाँ कुष्ठरोगका बिरामी, १८ जिल्लामा प्रकोपदर १ भन्दा माथि


काठमाडाैँ । नेपालमा सबैभन्दा बढी नयाँ कुष्ठरोगका बिरामीहरू मधेस प्रदेशमा फेला परेका छन् । 

बिहीवार काठमाडौँमा कुष्ठरोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले यस्तो जानकारी गराएका हुन् । उनकाअनुसार मधेस, लुम्बिनी र कोशी प्रदेशमा क्रमशः रोगको उच्च भार रहेको छ । सबैभन्दा बढी नयाँ कुष्ठरोगका बिरामीहरु मधेस प्रदेशमा देखिएका छन् ।

मधेस प्रदेशमा कुल केसको एक तिहाई भन्दा बढी रहेका छन् । दोस्रो सबैभन्दा बढी केसहरू लुम्बिनी प्रदेशमा रहेका छन् । जहाँ हाँ कुल केसको एक चौथाई भन्दा बढी रोगीहरु रहेको सचिव डा. देवकोटाले बताए। आर्थिक वर्ष २०८०/०८१ को अन्त्यसम्म नयाँ फेला परेका २ हजार ४ सय ७२ कुष्ठरोगीहरूमध्ये महिलाको संख्या १ हजार ४२ रहेको बताए । १४ वर्ष मुनिका नयाँ बिरामीको संख्या १ सय ३६ रहेको उनको भनाइ छ । 

सचिव देवकोटाले पहिचान रहेका सबै कुष्ठरोगका बिरामीहरू उपचाररत रहेको बताए । उनकाअनुसार कुष्ठरोग निवारणका लागि रोगको प्रकोप दर एक भन्दा कम हुनुपर्छ । प्रति १० हजार जनसंख्यामा १ जना भन्दा कम व्यक्ति रोगी रहेको अवस्था हुनुपर्छ । आर्थिक वर्ष २०८०/०८१ को तथ्याङ्कलाई विश्लेषण गर्दा कुष्ठरोगको प्रकोपदर राष्ट्रिय तहमा १ भन्दा कम (०.९२ प्रतिशत)  रहेको छ ।

तर जिल्ला तहको प्रकोप दर हेर्दा ७७ जिल्लामध्ये १८ जिल्लामा १ भन्दा माथि, ४८ जिल्लामा १ भन्दा कम, ११ जिल्लामा कुष्ठरोगका कुनैपनि नयाँ बिरामी फेला परेका छैनन् । मधेस, लुम्बिनी र कोशी प्रदेशमा क्रमशः रोगको उच्च भार रहेको छ ।